Logo

२२ तस्बिरमा ऋषिपञ्चमी (फोटोफिचर)



काठमाडौं, भदौ २३ । भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषिपञ्चमी पर्व आज हिन्दू नारीहरुले अरुन्धती सहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदै छन् । आज बिहानै उठेर स्नान गरी सोमबारको हरितालिकाको व्रत समापनका लागि गोदान, पूर्णपात्र लगायत धार्मिक कृत्य गरी नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३ सय ६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन् ।

रजस्वला भएका बखत जानेर अथवा नजानेर भएका गल्ती प्रायश्चित गर्ने उद्देश्यले व्रत बस्ने परम्परा छ । पञ्चमीका दिन कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ तथा ऋषि पत्नी अरुन्धतीको पूजा गर्नाले दोष नाश भई सुख शान्ति प्राप्त हुने विश्वास छ । ‘नुहाउने क्रममा ३ सय ६५ वटा दतिवनका डाँठ टोकेर खोलामा बगाउने चलन छ । नुहाउँदा माटो र गोबरले शरीरका सबै अंग शुद्ध गरिन्छ भने चाल्नीमा गनिएका तिलचामल र जौं राखेर माथिबाट पानी खन्याई छानिएको पानीले नुहाउने गरिन्छ ।

पूजाका क्रममा सातै ऋषिको प्रतिमालाई पञ्चामृतमा स्नान गराई, ती प्रतिमामाथि चन्दनको लेप, कपुर लगाउनुपर्छ । पुष्प, सुगन्धित पदार्थ, धूप, दीप, श्वेत वस्त्र, यज्ञोपवीत, नैवेद्यादिद्वारा पूजा गरिन्छ ।

फोटोः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्