Logo

विपदबाट जोगाउन खरको छाना हटाएर जस्तापाता



बाँके, भदौ २४ । राप्तीसोनारी गाउँपालिका–१ खासकुस्माका गाउँबस्तीमा खरको छाना हटाएर जस्तापाता लगाएपछि आगलागीलगायत विपद्का घटनामा कमी आएको छ ।

खरको छाना भएको घरमा आगलागीको जोखिम हुने भएकाले वडाभित्र रहेका विपन्न तथा सीमान्तकृत समुदायलाई लक्षित गरी आगलागीजस्ता विपद्बाट जोगाउन खरको छानामुक्त अभियान सञ्चालन गरेको वडाध्यक्ष यमबहादुर खड्काले जानकारी दिए ।

“खरका छानामा हिउँदको समयमा आगलागीको डर हुने र वर्षायाममा पानी चुहिने समस्या भएकाले वडावासीको सुरक्षाका लागि खरको छाना हटाउने काम सुरु गरेका छौँ”, उनले भने, “खरको छाना विस्थापित कार्यक्रम लागू भएपछि वडामा आगलागीका घटनामा कमी आएको छ ।”

वडामा रहेका सबै खरका छानालाई मुक्त गर्ने लक्ष्यका साथ सुरु गरिएको अभिायनअन्तर्गत हालसम्म एक सय ११ घरलाई खरको छानामुक्त गरिसकेको छ । चालु आर्थिक वर्षमा ५३ घरपरिवारलाई खरको छानामुक्त गर्ने योजना रहेको वडाध्यक्ष खड्काले बताए ।

वडाध्यक्ष खड्का २०७९ सालको स्थानीय तह निर्वाचनमा निर्वाचित भएर आएपछि वडामा रहेका विपन्न तथा सीमान्तकृत समुदायको घरका छानालाई खरमुक्त गरी जस्तापाता लगाउन सुरु गरेका थिए । आर्थिक वर्ष २०७९/८० मा रु २० लाख विनियोजन गरी ६५ घरपरिवार, आव २०८०/८१ मा रु १५ लाख विनियोजन गरी ४६ घरपरिवार र चालु आवमा रु १५ लाख विनियोजन गरी ५३ घरपरिवारलाई खरको छानामुक्त कार्यक्रम सञ्चालन गरिएको वडाध्यक्ष खड्काले बताए ।

कार्यक्रमको सूचीमा परेका लाभग्राही नागरिकलाई १० फिट लम्बाइ र ३२ गेज मोटाइ भएको २२ थान जस्तापाता वडा कार्यालयले प्रदान गर्ने गरेको वडाध्यक्ष खड्काको भनाइ छ । राप्तीसोनारी गाउँपालिका–१ साविकको खासकुस्मा गाविस छिमेकी जिल्ला दाङसँग जोडिएको छ ।

गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले वडा नं १ मा गरिएको खरको छाना हटाउने अभियान प्रभावकारी भएको बताउँदै अन्य वडाका गाउँबस्तीमा पनि खरको छाना हटाउनका लागि आफूले पहल गरिरहेको बताए ।



प्रतिक्रिया दिनुहोस्