काठमाडौं, २४ भदौ। रुकुम पश्चिममा खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ६ र ७ को सिमानामा पर्ने रम्मा खोलाको बाढीले बगाउँदा मुसिकोट नगरपालिका वडा नम्वर ६ की अन्दाजी ३० वर्षीया निर्मला केसी थापा र वडा नम्बर ४ का अन्दाजी ५० वर्षीय सर्जन पुनको मृत्यु भएको हो ।
रा ६ प २९६१ नम्बरको मोटरसाइकल चढेर आइतबार बेलुकी साँखबाट कानेबाङतर्फ जाँदै गर्दा उनीहरुलाई खोलाले बगाएको हो । उनीहरु दुबै जनाको शव आज बिहान प्रहरीले फेला पारेको हो । मृतक महिलाको शव तीन सय मिटर तल र पुरुषको शव २० मिटर तल फेला परेको प्रहरीले बताएको छ । मृतक दुबैजनालाई पोस्ट मार्टमका लागि सल्ले अस्पताल लग्ने तयारी गरिएको छ ।
खोलाले बगाउँदा टु-ट्वान्टी पल्सर बाइक पूर्ण रुपमा क्षति भएको छ । उक्त मोटरसाइकल मृतक महिलाले चलाएको प्रहरीले बताएको छ ।