काठमाडौं, २४ भदौ । जनता समाजवादी पार्टीका प्रमुख सचेतक डा. वीरेन्द्र प्रसाद महतोले आफ्नो निर्वाचन क्षेत्र सिरहा विष्णुपुरका रुपेश यादवको आफ्नै साथीको चक्कु प्रहारबाट भएको निधनको घट्नामा सरकारको ध्यानकार्षण गराएका छन् । रुपेशको शव नेपाल ल्याउन र उनको परिवारलाई उचित क्षतिपूर्तिको मागसहित सम्बन्धित मन्त्रालयको ध्यानाकार्षण गराएका महतोले वैदेशिक रोजगारीमा गएका युवाहरुले यस्तो अकल्पनीय मृत्युवरण गरेको यो नौलो घट्ना नभएकोले सरकारले तत्काल यसतर्फ गम्भीर ध्यान दिनुपर्ने सुझाव दिए ।
महतोले भने,‘सम्माननीय सभामुख महोदय, मेरो निर्वाचन क्षेत्र सिराहा ४ विष्णुपुर गाउँपालिका वडा नम्बर २ राजपुरका रुपेश यादवको वैदेशिक रोजगारीको क्रममा मलेशियामा यही सेप्टेम्बर २ तारिखमा निधन भएको छ । यादवको निधन भने आफ्नै नेपाली साथीको चक्कु प्रहारबाट भएको बताईएको छ । वैदेशिक रोजगारीको सिलसिलामा हाम्रा होनहार युवाहरुले यसरी अकालमै ज्यान गुमाउनु देशको लागि पनि दुःखको विषय हो । सरकारको यसतर्फ ध्यान जान जरुरी छ । मृत्तक रुपेश मलेशियामा गएको २५ महिना भएको थियो । अहिले बुवा विनोद आफ्नो छोराको असामयिक निधनको कारण विक्षिप्त हुनुहुन्छ । उहाँको घरको आम्दानीको स्रोत नै रुपेश हुनुहुन्थ्यो । उहाँले छोराको शव चाँडोभन्दा चाँडो स्वदेश ल्याईदिन र उचित क्षतिपूर्तिको लागि माग गर्नुभएको छ । सम्बन्धित मन्त्रालयले यसतर्फ तत्काल पहलकदमी लिईयोस । हाम्रा युवा जनशक्ति दैनिक हजारौंको संख्यामा वैदेशिक रोजगारीको लागि बाहिरिनुपर्ने बाध्यता छ । सरकारले मुलुकभित्रै युवाहरुलाई रोजगारीको व्यवस्था गर्न नसके आगामी दिनमा नेपालको अवस्था कठिन हुनेछ भन्ने मेरो बुझाई छ । रोजगारीको लागि विदेशको भूमिमा हाम्रा युवाहरुले अकालमै ज्यान गुमाएको यो पहिलो र नौलो घट्ना होईन ।’
सो क्रममा सांसद डा. महतोले अमेरिकामा दुई जना नेपाली चेलीले ज्यान गुमाउनुपरेको घट्नाबारेपनि सरकारको ध्यानाकार्षण गराए । उनले भने,‘हालै दुई जना नेपाली चेलीले ज्यान गुमाउनुपरेको छ । एकजना ममता काफ्लेको अहिलेसम्म अत्तोपत्तो छैन् । आफ्नै पतिले ममताको हत्या गरी शव लुकाएको भनिएको छ, यो घट्नाले पूरै नेपालीहरु दुःखी छन् । अर्को, अमेरिकाको टेक्सासमा नेपाली चेली मुना पाण्डेको पनि विभत्स हत्या भएको छ । त्यसैले युवाहरुको सुन्दर भविष्यको लागि पनि स्वदेशमै उचित रोजगारीको वातावरण बनाउनेतर्फ सरकार गम्भीर होस । धन्यवाद ।’
डा. महतोले वैदेशिक रोजगारीको नाममा फ्रि–भिसा र फ्रि–टिकटको नारा दिईएपनि व्यवहारमा त्यो लागु नै नभएको आरोप लगाए । उनले भने,‘फ्रि–भिसा र फ्रि–टिकट त एउटा नारामात्रै सिमित भयो । श्रमिले यो सुविधा पाउन सकेका छैनन् । उल्टै हाम्रा श्रमिकहरु चर्को हवाई भाडादरको सिकार हुनुपरेको छ । मलाई लाग्छ यो एशियकै महँगो भाडादर हो । हाम्रा श्रमिकहरुलाई यतिवेला ब्ल्याकमा टिकट किनेर उड्नुपर्ने बाध्यता भएको छ ।’ उनले श्रमिकका ठूला गन्तव्य मूल्यमा हवाई टिकटमा कृत्रिम अभाव खडा गरिएको र ती श्रमिकसँग चर्को मूल्य असुल्ने काम भएकोमा गम्भीर आपत्ति जनाए ।