काठमाडौं, भदौ २६ । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक बोलाएका छन् । सभापति निवास बूढानीलकण्ठमा बस्नेगरी अहिले बिहान ८ः३० बजेका लागि बोलाइएको बैठकमा कांग्रेस उपसभापति धनराज गुरूङमाथी सहकारी बचत सम्बन्धमा उठेको प्रश्नबारे सामुहिक धारणा बनाउने तयारी रहेको छ । त्यस्तै, प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले राजीनामा दिएर मार्ग प्रशस्त नगरेको खण्डमा उनलाई हटाउने तयारीका विषयमा समेत आजको बैठकमा छलफल हुनेछ ।
सत्तारुढ दलको बैठकले उपसभामुख रानालाई हटाउनेबारे निर्णय गरिसकेको छ । सभापति देउवाले यसबारे पार्टी पदाधिकारी र पूर्व पदाधिकारीहरुको धारणा बुझ्न खोजेको बताइएको छ । राजीनामा दिन उपसभामुख रानालाई प्रतिनिधि सभामा पनि दवाब बढ्दै गएको छ ।
रानाले पदीय मर्यादा र गरिमा जोगाउन नसकेको सत्तारुढ दलका नेताहरुको आरोप छ । उपसभामुख रानाले अमेरिकामा आयोजित एक कार्यक्रममा सहभागी हुन केही युवाहरुलाई भिसा सहजीकरण गरिदिन भन्दै अमेरिकी दूतावासलाई पत्र लेखेपछि उनी विवादमा रहेकी छन् ।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमै सत्तारुढ दलका सांसदले उपसभामुख रानाले राजीनामा दिनुपर्ने माग गरेका छन् । काँग्रेस र एमालेले उपसभामुख इन्दिरा राना मगरलाई हटाउन माग गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् ।
पोखरामा मंगलबार भएको पार्टीको कार्यक्रम सकेर काठमाडौं फर्के लगत्तै प्रधानमन्त्री ओलीलाई भेट्न लामिछाने साँझ बालुवाटार पुगेका थिए।
लामिछानेले सत्तारुढ दलका सांसदबाट उपसभामुखलाई राजीनामा दिन दबाब दिएको बारे प्रधानमन्त्रीको धारणा बुझ्न खोजेपछि ओलीले संसद्मा उठेको विषय त्यहीँ निराकरण हुने जवाफ दिएर फर्काएका छन् ।