Logo

आज ११ सेप्टेम्बर : सम्झनामा अमेरिकी इतिहासको त्याे कालो दिन



काठमाडौं, भदौ २६ । आज सेप्टेम्बर ११ अर्थात अमेरिकी इतिहासको कालो दिन हो । सन् २००१ को सेप्टेम्बर ११ मा आङ्कवादी संगठन अल कायदाका आक्रमणकारीको एउटा समूहले अमेरिकी यात्रुवाहक विमानलाई नियन्त्रणमा लिएर आत्मघाती हमला गराएका थिए । विश्वको सर्वशक्तिमान मुलुक अमेरिकी भूमिमा गराइएको यस हमलाले विश्वलाई नै आश्चर्यचकित एवम् स्तब्ध पारेको थियो ।

विशेष तालिमप्राप्त ती आतङ्कवादीको समूहले चार वटा व्यवसायिक विमानलाई अपहरण गरी न्युयोर्क सहर र राजधानी वासिंगटन, डिसीका महत्वपूर्ण भवनमा ठोक्काएका थिए । दुई विमानलाई न्युयोर्कस्थित विश्व व्यापार केन्द्रको जुम्ल्याहा भवनमा जोतिएको थियो । स्थानीय समयअनुसार बिहान ८ बजेर ४६ मिनेटमा पहिलो टावरमा विस्फोट गराइएको थियो । १६ मिनेटपछि दोस्रो टावरमा पनि विमान लगेर जोताइएको थियो ।

विस्फोटपछि टावरमा घन्टौँसम्म आागो लागेको थियो । ११० तले दुवै भवन ढलेर भग्नावशेषमा परिणत भएका थिए । ९ बजेर ३७ मिनेटमा तेस्रो विमानलाई अमेरिकी रक्षामन्त्रालय रहेको भवन पेन्टागनमा जोतिएको थियो भने वासिंगटन डिसीतर्फ बढिरहेको अर्को विमान पेन्सालभेनियाको बीच आकाशबाट नै खसेको थियो । विमानमा रहेका अपहरणकारी र यात्रुबीच विमानभित्र भनाभन हँदा विमान बीच आकाशबाट जमिनमा खसेको हो ।

ती सबै हमलामा १९ आक्रमणकारीसहित २ हजार ९ सय ९६ जनाको मृत्यु भएको थियो । आक्रमणमा अर्बौ डलर क्षति भएको थियो । साउदी अरबमा जन्मेका ओसामा बिन लादेनको नेतृत्वमा रहेको आतङ्कवादी सञ्जाल अलकायदालाई सो हमलाका लागि जिम्मेवार ठहर गरिएको थियो ।

आक्रमणमा संलग्न अन्य १५ जना पनि साउदी अरबका थिए भने दुई जना युएई, एक जना इजिप्सियन र अर्का लेबनानका थिए । हमलाको तीन सातापछि अमेरिकाले अफगानिस्तानमा आतङ्कवादविरुद्धको युद्ध अन्तर्गत आक्रमण सुरु गरेको थियो ।

बिन लादेनलाई पत्ता लगाउन र अल कायदाको सञ्जाल ध्वस्त पार्न भन्दै तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यु बुस प्रशासनले अफगानिस्तानमा आक्रमण सुरु गरेका थियो । सन् २०११ मा पाकिस्तानमा अमेरिकी सेनाको कारवाहीमा बिन लादेनको मृत्यु भएको थिया ।



प्रतिक्रिया दिनुहोस्