Logo

ओलीको चाहना पूरा हुन नदिनेगरि शेखर समूहको तयारी



काठमाडौं, २६ भदौ । नेपाली कांग्रेसभित्र उपसभामुख इन्दिरा रानालाई हटाउने विषयमा मत विभाजन भएको छ । खासगरी शेखर कोइराला समूहका नेताहरुले अहिले यो विषय किन उछालिएको भनेर प्रश्न उठाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा पार्टी सभापति शेरबहादुर देउवाले उपसभामुख रानालाई हटाउनको लागि पार्टीभित्र राय लिन बोलाएको बैठकमा यस्तो विरोध उठेको हो ।

शेखर समूहका सांसद राजेन्द्र बजगाईंले त हिजो (मंगलबार) बसेको प्रतिनिधिसभाको बैठकमा नै उपसभामुख रानामाथि विषय उठेको यतिका महिनापछि किन महाभियोगको अस्त्र फालियो ? भनेर आलोचना गरेका थिए । उनले त उपसभामुख रानामाथि महाभियोग लगाउन आधार नै नदेखिएको पनि बोलेका छन् ।

यस्तै, नेता अर्जुननरसिंह केसीले पनि उपसभामुखलाई हतारमा हटाउने काम नगर्न र यस विषयमा हात हाल्नुअघि गम्भीरतापूर्वक सौच्न सभापति देउवालाई सुझाव दिएका छन् । शेखर समूहले प्रधानमन्त्री ओली स्वेच्छाचारी ढंगले अघि बढ्न खोजेको निश्कर्ष निकालेको छ । प्रधानमन्त्री ओलीले भने आफू अमेरिका जानुअघि नै उपसभामुखलाई हटाए संवैधानिक परिषद्मा सत्ता पक्षको बहुमत पुर्याउने रणनीति बनाएका छन् ।

उपसभामुख रानाको पक्षमा रास्वपा, माओवादी केन्द्र, राप्रपा उभिएका छन् । सत्ता पक्षमा रहेको जनमत पार्टीले पनि महाभियोग लगाउने स्थिति आए पक्षमा वा विपक्षमा मतदान के गर्ने भन्नेबारे पार्टीको बैठक राखेर निर्णय लिने भनेको छ । शेखर समूहले कुनैपनि हालतमा उपसभामुख रानालाई हटाउन नदिनेगरि सभापति देउवासामू दबाब सिर्जना गरेको छ ।

देउवाले भने रानालाई जसरी पनि हटाउने ओलीको चाहनामा साथ दिइसकेका छन् । प्रधानमन्त्री ओलीले आजै साँझ संवैधानिक परिषद्को बैठक डाकेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्