Logo

झापामा व्यक्ति हत्या भएको थियो, हामीले उग्रवामपन्थी भयो भनेर गल्ती स्विकारेका थियौं : रघुजी पन्त



काठमाडौं, २६ भदौ । नेकपा (एमाले) का नेता रघुजी पन्तले हिंसा शब्द असंसदीय नभएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा उनले आफूले नै धेरैपटक यो शब्द बोलेको भन्दै हिंसा शब्द असंसदीय नभएको जिकिर गरे ।

उनले भने,‘यो संसद राजनीतिक बहसको थलोपनि हो । जुनबेला माओवादी पार्टी भन्ने नामै थिएन । त्यो बेला जुन २०४७ सालको संविधानपछि, हामी यो संसदमा आउँदाखेरि आलोचना र प्रत्याआलोचना अनि कडा बहस र छलफल हुँदाखेरि त्यसबेला एक दुई पटक हामीलाई साथीहरुले तपाईंहरुले व्यक्ति हत्या गरेर आउनुभयो, झापामा तपाईंहरुले टाउको काटेको होईन भनेर आरोप लगाउनुभयो, त्यसलाई हामीले आपत्ति गरेनौं । र, हामीले जवाफमा के भन्यौं भन्दाखेरि तपाईंहरुले पनि कुनै बेला राजालाई बम हान्नुभयो, तपाईंहरुले पनि सस्त्र उठाउनुभयो भन्यौं । संविधानमा सशस्त्र संघर्षको कुरा लेखिएको छ । झापामा व्यक्ति हत्या भएको थियो, त्यो हाम्रो उग्र वामपन्थी भयो भनेर गल्ती स्विकारेका थियौं । आज यहाँ सम्माननीय सभामुखज्यूले रुलिङ गर्नुभयो, हिंसा असंसदीय होईन । मैले पनि बारम्बार भनेको छु, यो हिंसा असंसदीय होईन । कुनै माननीयले कुनै अर्को माननीयलाई देखाएर तिमी हिंस्रक भन्न पाईँदैन् । तर, राजनीतिक आलोचनामा तपाईंहरुले जनयुद्ध गर्दा हिंसा गर्नुभयो भनेर मैले नै बोल्याछु, पहिलाको संसदमा कतिचोटि ।’



प्रतिक्रिया दिनुहोस्