Logo

अबको केही दिन भारी वर्षा



काठमाडौं, भदौ २७ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। उक्त प्रभावका कारण अहिले कोशी, बागमती, लुम्विनी र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार केही दिनयता मनसुनी वर्षा रोकिए जस्तो भए पनि मनसुन सकिएको छैन ।

एक वा दुई दिन घाम लाग्ने र फेरि अर्को एकरदुई दिन वर्षा हुने प्रवृत्ति दोहोरिरहेको छ । मनसुनी प्रणाली सक्रिय गराउन जलवाष्पको आवश्यकता बढ्दा प्राकृतिक प्रणाली अनुसार नै कहिले घाम कहिले पानीको प्रवृत्ति बढेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार पूर्व, पश्चिम र सुदूरपश्चिमसम्म नै बुधबारदेखि फेरि बदली सुरु भएको छ । दुई दिनयता घामछायाको अवस्थापछि बुधबार अपराह्नदेखि देशव्यापी बदली सुरु भएको हो । बुधबार हल्का वर्षा भए पनि बिहीबार र शुक्रबार लुम्बिनी र सुदूरपश्चिका धेरै भूभगमा मुसलधारे वर्षाको सम्भवना रहेको छ। साथै बागमती र गण्डकी प्रदेशका केही भेगमा भारी वर्षाको सम्भावना रहेको छ ।

करिब एक महिना मनसुनको समय बाँकी रहे पनि मनसुनी प्रणालीको वेग कम भएको छैन । नेपालमा यो वर्ष बढी वर्षा हुने आकलन यसअघि नै भएको थियो । त्यसैले पनि मनसुन उत्तरार्धतिर लागेको छनक मौसमले नदिएको महाशाखाले जनाएको छ । अबको केही दिन देशका विभिन्न स्थानमा हुने भारी वर्षाले निम्त्याउन सक्ने बाढीपहिरो, डुबानलगायतका विपत्बाट आमनागरिकको जिउधन जोगाउन पूर्वतयारी गर्न सरोकारवाला निकायलाई अनुरोध गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्