Logo

एक वर्षमा एकचालिस हजार रुपियाँले बढ्यो सुनको मूल्य



काठमाडौं, भदौ २७। स्थानीय बजारमा बुधबार सुनको मूल्य फेरि बढ्न थालेको छ । लामो समयदेखि स्थिर रहेको सुनको मूल्य बुधबार एक्कासि बढेको हो । मङ्गलबार प्रतितोला एक लाख ५२ हजार चार सय रुपियाँमा कारोबार भएको सुनको मूल्य बुधबार तोलामा एक हजार रुपियाँले बढेर एक लाख ५३ हजार चार सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यो अहिलेसम्मकै उच्च मूल्य हो । यसअघि भदौ १२ गते प्रतितोला एक लाख ५३ हजार दुई रुपियाँमा कारोबार भएको थियो । त्यसपछि क्रमिक रूपमा घटेर गत आइतबार एक लाख ५२ हजार एक सय रुपियाँमा पुगेको थियो । त्यसपछि क्रमिक रूपमा बढ्न थालेको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेका कारण त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । बुधबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुनको मूल्य दुई हजार ५२० अमेरिकी डलरमा कारोबार भइरहेको छ । यसैबिच एक वर्षको अवधिमा बजारमा प्रतितोला सुनको मूल्य ४१ हजार दुई सय रुपियाँले बढेको छ । गत वर्ष भदौ २६ गते प्रतितोला एक लाख १२ हजार दुई सय रुपियाँमा कारोबार भएको सुनको मूल्य बुधबार बढेर एक लाख ५३ हजार चार सय रुपियाँ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्