Logo

नेपालगञ्जको ऐतिहासिक संस्कृति रामलीला



राँझा (बाँके), २७ भदौ । बाँकेको नेपालगञ्जमा ऐतिहासिक रामलीला महोत्सवको संरक्षण गर्दै एक सय ५७औँ संस्करणको तयारी सुरु भएको छ ।

प्रत्येक वर्ष दसैँका अवसरमा नेपालगञ्जको रामलीला मैदानमा रामलीला महोत्सव मञ्चन हुँदै आएको छ । यो वर्ष रामलीलाको एक सय ५७औैँ संस्करणका लागि आवश्यक तयारी सुरु गरिएको रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाले जानकारी दिए ।

विगतका वर्षमा जस्तै यस वर्ष पनि रामलीला महोत्सव सञ्चालन गर्ने तयारी भइरहेको बताउँदै अध्यक्ष कनोडियाले यसवर्ष भारतको बृन्दावनबाट कलाकार ल्याउने गरी तयारी गरिएको जानकारी दिए। “रामलीला मञ्चन गर्न बर्सेनि लाखौँ खर्च गरेर भारतबाट कलाकार ल्याउँछौँ । नेपालमा कलाकार उत्पादन गर्ने प्रयास गरे पनि सफल हुन नसकेपछि भारतबाट ल्याउने गरेका हौँ”, उनले भने ।

आगामी वर्षका लागि स्थानीयस्तरमा कलाकार उत्पादन गर्न तालिम सञ्चालन गर्ने योजना बनाइएको अध्यक्ष कनोडियाले उल्लेख गरे । उनका अनुसार एउटा आयोजनामा कम्तीमा १५ लाख खर्च हुने गर्दछ ।

“समुदायस्तरबाट एक सय ५० वर्षदेखिको यो अद्भूत कलालाई निरन्तरता दिने गरिएकाले यसलाई हामीले पनि निरन्तारता दिँदै आएका छौँ, यो प्रयास चुनौतीपूर्ण भने अवश्य छ”, उनले भने । उनका अनुसार मञ्चनको सतप्रतिशत खर्च समुदायको सहयोगबाट हुने गरेको छ ।

समुदायको अग्रसरतामा यहाँसम्म आइपुगेको यो ऐतिहासिक विरासतलाई निरन्तरता दिन र जीवन्त राख्न स्थानीय कलाकार उत्पादनलाई विशेष प्राथमिकतामा राखेर अगाडि बढ्ने बताउँदै कनोडियाले यसमा स्थानीय सरकारको सहयोग आवश्यक पर्ने उल्लेख गरे।

एक सय ५२ वर्षदेखि निरन्तर प्रत्येक वर्ष हुँदै आएको रामलीला महोत्सवको एकसय ५३ र एकसय ५४औँ वर्ष प्रवेशको कार्यक्रम कोरोना महामारीका कारण स्थगित गरिएको थियो । सत्यमाथि विजयको प्रतिकका रुपमा मनाइने दसैँको पहिलो दिन घटस्थापनादेखि विजयादशमीको दिनसम्म राति ८ बजेदेखि १२ बजेसम्म रामलीला मञ्चन हुन्छ ।

चासो र उत्साहका साथ रामलीला महोत्सवमा सयौँको सङ्ख्यामा स्थानीयका साथै भारतका दर्शक पनि मध्यरातसम्म सहभागी हुने अध्यक्ष कनोडियाले जानकारी दिए । उनका अनुसार धनुष यज्ञ, रावणवध, भरतमिलाप र रामको शुभ राज्याभिषेक भएर रामलीला महोत्सव समापन हुने गर्दछ ।

यसक्षेत्रको परिचय बनेको रामलीला मञ्चनले नेपाल तथा भारतमा नेपालगञ्जलाई चिनाएको सञ्चालक समितिका अध्यक्ष कानोडियाले बताए । उनका अनुसार विश्वनाथ टण्डन, बद्रिनाथ टण्डन, पाटनदिन गुप्ता, जगदिशप्रसाद वैश्य, पन्नालाल गुप्ता, जयेन्द टण्डन, भाइलाल हल्वाईलगायतले नेपालगञ्जमा रामलीला महोत्सवको सुरुवात गरेको थियो ।

नेपालगञ्जको परम्परालाई जोगाइ राख्न सहयोग सङ्कलन गरेर महोत्सव गर्दै आइएको स्थानीय अगुवा द्वारिकाप्रसाद वैश्यले बताए । उनका अनुसार विसं १९२५ देखि नेपालगञ्जको रामलीला मैदान र टण्डन राइस मिलमा मञ्चन हँुदै आएको यो कला नेपालीका साथै सीमावर्ती भारतीयबीच लोकप्रिय छ । भारतको उत्तरप्रदेशबाट हजारौँ श्रद्धालु रामलीला दर्शनका लागि आउने गरेका उनले जानकारी दिए। रासस



प्रतिक्रिया दिनुहोस्