Logo

३० दिनका लागि इटाली पुगेको जहाज ८० दिनमा फर्कियो, अर्काे फर्किने मिति अनिश्चित



काठमाडौं, भदौ २७ । गत ८ असारमा विस्तृत मर्मत (सि-चेक) का लागि इटली गएको नेपाल वायुसेवा निगमको एउटा वाइडबडी जहाज ८० दिनपछि आज काठमाडौं फर्किएको छ ।

निगमको एयरवसको ए३३० को (एन एएलवाई अन्नपूर्ण) नामक जहाज आज विहान साढे ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवरण गरेको छ । उक्त जहाज ३० दिनमा फर्किनेगरी इटाली पुगेको ८० दिनपछि नेपाल फर्किएको हो ।

निगमको अन्तर्राष्ट्रिय उडानमा रहेका ४ वटा जहाजमध्ये हाल दुई वटा न्यारोबडीले मात्रै नियमित उडान गरिहरेको छन् । वाइडबडी दुइवटा मध्ये एउटा अझै इटलीमै सि-चेकमा छ । एउटा वाइडबडी जहाजको सि–चेकको क्रममा रहेको बेला अर्को वाइडबडी (एन–एएजेड) पनि सि-चेकका लागि भदौ १२ गते इटाली पठाएको थियो । दोस्रो वाइडबडी इटाली पुगेको दुई हप्ता पुगेपनि अझै सि–चेक सुरु भएको छैन । दुई वटा जहाज सि चेकका लागि ग्राउन्डेड भएपछि निगमले जापान लगायतका लामो दूरीका गन्तव्यको आम्दानी गुमाउँदै आएको छ ।

एकैपटक दुईवटा विमान सी-चेकका लागि पठाएको भन्दै निगमका अध्यक्ष युवराज अधिकारीलाई सरकारले स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण सोधेपछि निगम अध्यक्ष अधिकारीले नेपाल नागरिक उड्डयन प्राधिकरणका र सरकारकै असहयोग गरेका कारण पनि निगमले राम्रोसँग काम गर्न नसकेको जवाफ दिएका छन्।

निगम नेतृत्वले नियामक निकाय उड्डयन प्राधिकरणसँग अनुमति नै नलिई जहाज इटाली पुर्‍याएको थियो । कुनै पनि जहाजको मर्मत–सम्भारका लागि सम्बन्धित एयरलाइन्सले क्यानसँग अनुमति लिनुपर्ने भएपनि आज नेपाल फर्किदासमेत निगमले प्राधिकरणलाई जानकारी गराइएको छैन् ।



प्रतिक्रिया दिनुहोस्