Logo

त्रिशूली अस्पतालमा दुर्लभ प्रकृतिको जोखिम गर्भवतीको सफल शल्यक्रिया



नुवाकोट, भदौ २७। त्रिशूली अस्पताल नुवाकोटमा गर्भवती महिलाको जटिल प्रकारको शल्यक्रिया मार्फत सुत्केरी गराइएको छ । गर्भमा उल्टो बसेको बच्चाको घाँटीमा तीनफन्का साल बेरिएर शिशु निसास्सिएको र सुत्केरी हुने जोखिम अवस्थामा रहेको एक महिलाको बुधबार सफल शल्यक्रिया मार्फत सुत्केरी गराइएको हो ।

यस किसिमको शल्यक्रियालाई चिकित्सकीय भाषामा सिजरियन सेक्सन अप्रेसन भनिन्छ । जोखिम अवस्थाको निकै दुर्लभ मानिने यस अवस्थाको गर्भवतीलाई विगतमा काठमाडौँको सुविधा सम्पन्न अस्पतालमा सिफारिस गर्ने गरिएकोमा अहिले यही (त्रिशूली अस्पताल) मा नै शल्यक्रिया गरिएको अस्पतालका निर्देशक डा.राजेन्द्र लामाले जानकारी दिए। उनको अनुसार गर्भवती जाँच गराउन अस्पताल पुगेको महिलाको भिडियो एक्सरे मार्फत परीक्षण गराउँदा बच्चा उल्टो बसेको र घाटीमा साल बेरिएर निसास्सिएको पाइएपछि आमा र शिशु बचाउन आकस्मिक शल्यक्रिया गरिएको हो ।

“गर्भमा बच्चा उल्टो बस्नु अथवा साल बेरिनु मध्ये कुनै एक किसिमको जोखिमको बहन गरिँदै आएपनि दुवै समस्यामा रहेको जोखिमलाई निकै दूलर्भ मानिन्छ ।” अस्पतालका निर्देशक डा.लामाले भने“ यस्तो अवस्थामा जतिसक्दो चाँडो शल्यक्रिया गर्न नसके दुर्घटना निम्तन सक्ने हुँदा दक्ष एवम् अनुभवी गाइनोलोजिस्ट चिकित्सकले सतर्कतापूर्वक शल्यक्रिया मार्फत सुत्केरी गराई आमा र शिशु दुवैलाई जोखिम मुक्त बनाई प्राप्त भएको सफलतालाई ठूलो उपलब्धिको रुपमा लिइएको छ ।

त्रिशूली अस्पतालका गाइनोलोजिस्ट डा.अनिलकुमार खरेल र डा.दीपिका श्रेष्ठ तथा एनेस्थेसियालोजिस्ट डा.पार्वती गौतम र शल्यक्रिया कक्ष इन्चार्ज चारु थापामगरको टिमले जोखिम अवस्थाको गर्भवतीको शल्यक्रिया गरेर सुत्केरी गराइएको हो । अस्पतालका निर्देशक डा.लामाको अनुसार अहिले आमा र शिशु दुवैको अवस्थामा सामान्य रहेको छ ।



प्रतिक्रिया दिनुहोस्