Logo

कैदीबन्दीको उपचारमा आर्थिक अभाव



चितवन, २७ भदौ । जिल्लामा कैदीबन्दीको उपचारमा आर्थिक अभाव भएको छ । गुणस्तरीय स्वास्थ्य उपचार पाइने भएपछि काठमाडौँपछि कैदीबन्दीले चितवन रोज्ने गरेकामा पहिल्लो समय आर्थिक अभाव देखिन थालेको हो ।

उपचार गर्नुपर्ने कैदीबन्दीको सङ्ख्या धेरै भएपछि बजेटको अभाव भएको कारागार कार्यालय चितवनले जनाएको छ । कारागार प्रमुख कमलप्रसाद आचार्यका अनुसार कारागारमा अहिले एक सय २४ जना दीर्घरोगी कैदीबन्दी रहेका छन् ।

कूल सात सय ४८ कैदीबन्दीमध्ये एक सय २४ जनामा मुटुको रोग, उच्च रक्तचाप, मधुमेह, क्षयरोग, क्यान्सर, मानसिक रोग, एचआइभी एड्स, हेपटाइटिस सि, थाइराइड, छारेरोग, न्यूरोसम्बन्धी समस्या देखिएको उनले जानकारी दिए ।

सरकारले कारागार कार्यालयमा कैदीबन्दीको चाप अनुसार उपचार खर्च व्यवस्थापन गर्न नसक्दा कतिपय समयमा कैदीबन्दी आफैँले उपचार खर्च बेहोर्ने गरेका आचार्यले बताए । “अहिलेको बजेटले सरकारी अस्पतालमा उपचार गर्नसक्ने स्थिति छ”, उनले भने, “बिरामीलाई भने मेडिकल लकेजमा उपचार गर्नुपर्ने भएकाले कतिपय अवस्थामा कैदीबन्दीले आफैँले उपचार खर्च बेहोर्ने गरेका छन् ।”

अहिले पनि चितवन मेडिकल कलेजमा एक जनाको उपचार भइरहेको जनाउँदै प्रमुख आचार्यले उक्त उपचार खर्च स्वयं कैदीबन्दीले नै गरिरहेका बताए । यहाँ रहेका कैदीबन्दीहरुको उपचारको जिम्मेवार कारागार प्रशासनको भए पनि बजेट अभावका कारण समस्या हुँदै आएको उनले उल्लेख गरे।

कारागार प्रमुख खाचार्यका अनुसार गत आर्थिक वर्षमा १३ लाख बजेट उपचारका लागि विनियोजन भएकामा अहिले १० लाख मात्रै विनियोजन भएको छ । यो बजेटले क्यान्सरको बिरामीलाई उपचार गर्न कठिन हुने अवस्था रहेको उनले बताए । अघिल्ला वर्षहरुमा न्यूनतम २५ लाखसम्म उपचारका लागि बजेट विनियोजन हुने गरेको थियो ।

प्रमुख आचार्यका अनुसार कारागार कार्यालयमा अहिले उच्च रक्तचापका ६०, मधुमेहका २६, क्षयरोगका १०, क्यान्सरका एक, मुटुरोगी चार, मानसिक रोगी सात, एचआइभी एड्का चार जना छन् । यस्तै हेपाटाइटिस सिका चार, थाइराइडका तीन, छारेरोगका चार र न्यूरोका एक जना बिरामी रहेका उनले जानकारी दिए ।

बिरामीलाई नियमिति आवश्यक औषधि खरिद तथा सरकारी अस्पतालमा उपचार गर्न बजेट नपुग्ने भन्दै आचार्यले कैदीबन्दी र दातृ संस्थाहरुको सहयोगमा औषधि उपचारको व्यवस्था गरिएको बताए । अहिलेलाई समस्या नरहेको भन्दै चालु आर्थिक वर्षको मध्यभागदेखि भने रकम अभाव हुने उनले जानकारी दिए ।

दुई सय ५५ जनाको क्षमता रहेको पुरुष बन्दी गृहमा सात सय पाँच र २५ जनाको क्षमता रहेको महिला बन्दी गृहमा ४३ कैदीबन्दी छन् । उनीहरुसँग आश्रित दुई बालिका र एक जना बालकसमेत रहेका कार्यालयले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्