Logo

उपसभामुखको पक्षमा उभिने सिके राउतको तयारी, राप्रपापनि हटाउन नहुने पक्षमा



काठमाडौं, २७ भदौ । उपसभामुख इन्दिरा रानालाई हटाउने कांग्रेस–एमालेको तयारी छ । तर, सत्ता गठबन्धनमा रहेको जनमत पार्टी भने त्यसको विरोधमा उभिने चर्चा छ । सो दलका अध्यक्ष डा. सिके राउतले अहिले उपसभामुख हटाउने विषय शोभनीय नहुने र राजनीतिक दाउपेचको लागि मात्रै हुने भन्दै त्यसको सार्वजनिक रुपमै आलोचना गर्न थालेका छन् ।

उनले यो विषयमा पार्टीभित्र आन्तरिक रुपमा छलफलसमेत गरिसकेका छन् । उनले इन्दिरा रानालाई हटाएर कांग्रेस र एमालेले संवैधानिक परिषद्मा बहुमत पुर्याउने र त्यसपछि साना दललाई मास्नको लागि कदम चाल्न खोजिएको निश्कर्ष निकालेका छन् । रास्वपाले त रानालाई हटाउन प्रस्ताव ल्याईए त्यसको डटेर सामना गर्ने भनेको छ।

उता, प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले पनि उपसभामुख रानालाई हटाउने कांग्रेस र एमालेको तयारीको विरोध सुरु गरिसकेको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि गृहजिल्ला झापामा पुगेर उपसभामुख हटाउने दुई ठूला दलको तयारीको विरोध गरेका छन् ।

राप्रपासमेत उपसभामुख रानाको पक्षमा उभिँदा कांग्रेस र एमालेलाई उपसभामुखलाई हटाउनको लागि कठिन हुने चर्चा छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा कांग्रेस सभापति शेरबहादुर देउवाले पनि उपसभामुखलाई हटाउनको लागि सहमति जनाएका छन् । यद्धपी कांग्रेसकै केही सांसदहरुले भने त्यसको आलोचना गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्