Logo

खेल क्षेत्रको विकास गर्न पौवादुङमाद्वारा प्रशिक्षक नियुक्त



भोजपुर, २७ भदौ । जिल्लाको पौवादुङमा गाउँपालिकाले खेल अभ्यास र विकासका लागि खेल प्रशिक्षक नियुक्त गरेको छ । समग्र खेल क्षेत्रको विकास गर्ने र खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले जिल्लामा पहिलो पटक गाउँपालिकाले आधिकारिक रुपमा खेल प्रशिक्षक नियुक्त गरेको हो ।

गाउँपालिकामा सक्षम खेलाडी उत्पादन गर्ने लक्ष्यले ऐन जारी गरेर खेलकुद विकास समिति गठन पश्चात् आधिकारिक रुपमा प्रशिक्षक नियुक्त गरिएको गाउँपालिकाका अध्यक्ष किरण राईले जानकारी दिए । पालिकाको गरिमा बढाउँदै राष्ट्रका लागि असल र दक्ष व्यावसायिक खेलाडी उत्पादन गर्ने दीर्घकालीन सोचका साथ खेल क्षेत्रको विकासमा जुटेको उनले बताए।

“अन्य क्षेत्रको योजनाबद्ध विकाससँगै समग्र खेल क्षेत्रको विकासमा पनि पालिका योजनाबद्ध रुपमा जुटेको छ”, अध्यक्ष राईले भने, “हामीले ऐन बनाएर खेलकुद समिति गठन गरेका छौँ । दक्ष र व्यावसायिक खेलाडी उत्पादन गर्ने हाम्रो लक्ष्य हो ।” उनका अनुसार दीपक आलेलाई खेलकुद प्रशिक्षकको रुपमा नियुक्त गरिएको हो ।

यहाँका नौ स्थानीय तहमध्ये यसरी ऐन बनाई खेलकुद विकास समिति गठन गरेर प्रशिक्षक नियुक्त गर्ने पौवादुङमा गाउँपालिका पहिलो स्थानीय तह बनेको छ । रासस



प्रतिक्रिया दिनुहोस्