Logo

फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा पुनः उडान



मङ्गलबारे, २७ भदौ । इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट उडान सुरु भएको छ । केही महिना बन्द रहेको विमानस्थलमा आजदेखि पुन उडान थालिएको हो । गत बिहीबार नै उडान भर्ने भनिए पनि यात्रु नपाएर उडान भएको थिएन ।

यात्रु पाएसँगै आज बिहानबाट उडान सुरु भएको नेपाल एयरलाइन्स सुकिलुम्बा विमानस्थल इलामका इन्चार्ज दिनेश सुन्दासले बताए। उनका अनुसार काठमाडौँबाट इलामका लागि छ जना यात्रु आएको र काठमाडौँका लागि आठ जना यात्रु लिएर गएको छ ।

इलाम नगरपालिका–९ मा रहेको सुकिलुम्बा विमानस्थलबाट नेपाल एयरलाइन्सको २७ सिट क्षमताको जहाजले उडान गरेको छ । अब हप्ताको प्रत्येक बिहीबार नियमित उडान हुने जनाइएको छ । बर्खा लाखेसँगै खराब मौसमका कारण साँढे तीन महिनादेखि नभएको उडान सुरुभएसँगै यात्रुलाई सहज भएको छ । दसैँ तिहार जस्ता चाडपर्व नजिकिएसँगै इलामदेखि काठमाडाँै उडान गर्नुपर्ने माग भएपछि उडान सुरु भएको छ ।

यहाँबाट बीचमा उडान नहुँदा यात्रुले झापाको भद्रपुर तथा अन्य विमानबाट यात्रा गर्नुपर्ने बाध्यता रहँदै आएको छ । गत जेठ १३ गतेदेखि हुन नसकेको उडान सुरु भएको हो । इलामबाट हप्ताको दुई दिन अर्थात आइतबार र बिहीबार उडान हुँदै आएको थियो ।

नेपाल एयरलाइन्सका दुईवटा साना विमानमध्ये एउटा मर्मतमा रहेकाले अब केही समय बिहीबार मात्र उडान हुने र अर्को विमान मर्मतबाट आएपछि साताका अन्य दिनसमेत उडान हुने जनाइएको छ । विमानस्थल सञ्चालनमा आएपछि पूर्वी पहाडी जिल्लासहित छिमेकी राष्ट्र भारतको सिक्किम, मिरिकलगायतका बासिन्दालाई काठमाडौँलगायतको यात्रमा सहज हुने छ ।

शनिबार पनि बजार खुल्ने

यसैबीच अब शनिबार पनि बजार खुल्ने भएको छ । हप्ताको एक दिन अर्थात शनिबार बन्द गरिँदै आएको इलाम बजारका पसल अब सातामा सातै दिन खुल्ने भएका हुन् । इलाम बजारसँगै देउमाई नगरपालिकाको मङ्गलबारे बजारका पसलसमेत

अब शनिबार खुल्ने भएका हुन् ।

महान चाडपर्व नजिकिएसँगै शनिबार बन्द गरिँदै आएका पसल खुल्ने भएका हुन् । इलाम उद्योग वाणिज्य सङ्घले दसैँं, तिहार, नेपाल संवत् र छठको अवसरमा भदौ २९ गतेदेखि सबै पसल खोल्न व्यवसायीमा सूचना जारी गरेको छ । दैनिक उपभोग्य वस्तु खरिदमा गाउँबाट आएका उपभोक्तालाई सहज होस् भनेर शनिबार पसल खोल्न व्यापारीलाई आग्रह गरिएको इलाम उद्योग वाणिज्य सङ्घ इलामका अध्यक्ष कृष्ण पौडेलले बताए।

उनका अनुसार कात्तिक २३ सम्मका लागि शनिबार पनि सबै पसल खोल्न आग्रह गरिएको छ । पसलमा काम गर्ने कामदारलाई बिदा दिन र सातामा एक दिन भए पनि व्यापारीले पसल बाहेक बिदा मनाउन साथै अन्य काम गर्नका लागि हरेक शनिबार पसल बन्द गरिँदै आइएको छ ।

इलाम बजारसहित बिब्ल्याँटे, मङ्गलबारे, फिक्कल प्रमुख व्यापारिक केन्द्र मानिन्छन् । जिल्लामा सातै दिन विभिन्न स्थानमा हटियासमेत लाग्ने गरेको छ । रासस



प्रतिक्रिया दिनुहोस्