Logo

श्रमदानबाट बन्यो ‘कल्भर्ट’



तुलसीपुर (दाङ), २८ भदौ । यसअघिको वर्षात्ले तुलसीपुर उपमहानगरपालिका–४ स्थित सिर्सेखोलामा बनाइएको कल्भर्ट बगायो । कल्भर्ट बगाउँदा आवतजावतमा निकै समस्या भयो । त्यही बाटो विद्यार्थी हिँड्नुपर्ने हुँदा विद्यार्थीलाई निकै जोखिम थियो ।

त्यसैलाई मध्यनजर गरी सोही ठाउँमा श्रमदान गरेर स्थानीयले कल्भर्ट निर्माण गरेका छन् । पटक–पटक ह्युमपाइप बगाउने हुँदा त्यसलाई अड्याउनका लागि ग्याविन जाली हालिएको वडाध्यक्ष तुलसी थापाले बताए । “पटक–पटक हामीले त्यहाँ ह्युमपाइप राख्छौँ, तर अलिकति ठूलो खोला आउँदा बगाइदिने भएकाले यसपटक ग्याविन जाली हालेका छौँ”, उनले भने।

वडाध्यक्ष थापाले सबैलाई श्रमदान गर्न आह्वान गरेपछि श्रमदान गरेर उक्त ह्युमपाइप अड्याउन ग्याविन जाली निर्माण गरिएको हो । त्यहीँ खोला हुँदै दीपेन्द्र आधारभूत विद्यालय घोरानेटीमा विद्यार्थी पढ्न जाने गर्छन् ।

स–साना विद्यार्थीलाई निकै जोखिम हुने भएकाले विद्यालयका शिक्षकले पनि श्रमदान गरेको वडाध्यक्ष थापाले बताए । त्यहाँ कलभर्ट राखेपछि आवतजावतमा सहज भएको छ । विद्यार्थी पनि सहजै आउन सक्ने भएको वडाध्यक्ष थापाको भनाइ छ ।

विकासका लागि मुख ताक्नेभन्दा पनि एकताबद्ध भएर समस्याको समाधान गर्नतर्फ स्थानीय पनि जागरुक हुनुपर्ने वडाध्यक्ष थापाको भनाइ छ । “विकासका लागि सरकारकै मुख ताक्नुपर्छ भन्ने छैन”, उनले भने, “केही–केही कुरा त स्थानीयको एकता भएमा आफैँ पनि गर्न सकिन्छ भन्ने उदाहरण दिन यो कार्य गरिएको हो ।” जनताको एकता पनि विकासको आधार रहेको अध्यक्ष थापा बताउँछन् । रासस



प्रतिक्रिया दिनुहोस्