Logo

‘ज्ञानेश्वरको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र महानगरकै उत्कृष्ट’



काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिका–३० स्थित ज्ञानेश्वरमा रहेको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र ३२ वटै वडामध्येको उत्कृष्ट स्वास्थ्य संस्थाका रूपमा स्थापित भएको छ ।

केन्द्र २०७८ साल चैत १ गतेदेखि सञ्चालनमा आएको हो । महानगरपालिकासँगको सम्झौतामा मानव स्वास्थ्य नामक सामाजिक संस्थाले सञ्चालनमा ल्याएको केन्द्र गत साउन १ गतेदेखि महानगरपालिकाले नै व्यवस्थापन गर्न थालेको छ ।

महानगरपालिकाका ३२ वटै वडामा सञ्चालनमा रहेका केन्द्रमध्ये उत्कृष्ट सेवा प्रदान गरेकाले महानगरले नै व्यवस्थापन गर्न थालेको निमित्त इञ्चार्ज गीताकुमारी साउदले जानकारी दिए । महानगरले ३२ वटै वडाका केन्द्रलाई यस्तै स्वरुपमा चलाउन चाहेको छ ।

स्थानीयवासी करिष्मा कुँवर केन्द्रले राम्रो सेवा दिएकाले सामान्य उपचारका लागि अन्य अस्पतालसम्म पुग्नुपर्ने अवस्था नरहेको बताउँछन् । ससुराको गोडाको शल्यक्रियापछि आएको घाउ केन्द्रमै ठीक भएकाले अन्य अस्पताल जानु नपरेको उनले सुनाए । केन्द्रमा राम्रो ड्रेसिङको व्यवस्था भएकाले टोल छिमेकमै उपचार पाउँदा स्थानीयवासी हर्षित बनेका छन् ।

केन्द्रमा समय–समयमा महिलाका लागि पाठेघरको जाँचका लागि शिविरको आयोजना हुने गरेको छ । यसले धेरै महिलामा क्यान्सर छ कि छैन भन्ने थाहा पाउन सजिलो भएको छ । यसैगरी पुरुषको प्रोस्टेट क्यान्सरको पनि परीक्षण हुने गरेको छ । केन्द्रमा डेङ्गीको पनि निःशुल्क परीक्षण हुने गरेको छ । केन्द्रमा ९८ प्रकारका औषधि निःशुल्क वितरण हुन्छ । अन्य औषधिमा भने २५ प्रतिशत सहुलियतमा बिक्री हुने गरेको छ ।

वडा सदस्य इन्दिरा श्रेष्ठ सिंह स्वास्थ्यका लागि महानगरका अन्य वडाका केन्द्रभन्दा राम्रो भएकैले महानगर प्रमुख बालेन्द्र शाहले अनुगमन गरी व्यवस्थापन लिने निर्णय गरेको जानकारी दिए । काठमाडौँ क्षेत्र नं ४ का सांसद गगनकुमार थापाको सक्रियतामा केन्द्र स्थापना गरिएको हो ।

थापाले स्वास्थ्यमन्त्री हुँदा केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । स्थापना हुनुअघि नै उनी मन्त्री पदबाट हटेपछि केन्द्र अलपत्र बनेको थियो । त्यसैकारण महानगरपालिकासँग सम्झौता गरेर मानव स्वास्थ्य नामक सामाजिक संस्थाले यसलाई सञ्चालनमा ल्याएको थियो । अहिले ३२ वडामध्येको उत्कृष्ट केन्द्रका रूपमा स्थापित भएपछि भने महानगरले व्यवस्थापन लिएको हो ।

केन्द्रमा एमडीजिपी चिकित्सकसहित १३ जनाको दरबन्दी रहेको पनि उनले सुनाए । महानगरपालिकाले व्यवस्थापन गर्न थालेपछि भने केन्द्रमा ११ जनाको दरबन्दी कायम गरिने स्वास्थ्य सेवा विभागका प्रमुख दीपककुमार केसीले केन्द्रको अनुगमनका क्रममा बताएको छ । केही समयमा कर्मचारीको व्यवस्थापन भइसक्ने महानगरपालिकाले जनाएको छ ।

मासिक एक लाख ५५ हजार भाडामा लिएको भवनमा केन्द्र सञ्चालन गर्नुपर्दा स्वास्थ्य सेवा दिन समस्या भएको लेखा एवं व्यवस्थापन अधिकृत सजना डङ्गोलले बताए । स्वास्थ्य केन्द्र चलाउने प्रयोजनले निर्माण भएको भवन नभएकाले ज्येष्ठ नागरिकलाई माथिल्लो तलासम्म पुग्न अप्ठ्यारो हुने गरेको छ ।

भवनमा कोठाको अभाव भएकैले डे«सिङ, इसिजी, खोप सेवा, परिवार नियोजन सेवा र किशोरकिशोरी सेवा पनि एउटै कोठाबाट दिनुपरेको उनले सुनाए । केन्द्रमा फिजियोथेरापी सेवा पनि उपलब्ध छ । विसं २०७८ चैत १ गतेदेखि मानव स्वास्थ्यको व्यवस्थापनमा चलेको केन्द्रमा २०७९ साल साउन १ गतेदेखि भने महानगरले दुईजना कर्मचारी पठाएको थियो । यस्ता केन्द्रमा ११ जना कर्मचारीको व्यवस्था गर्ने कानुन महानगरपालिकाले पारित गरी स्थानीय राजपत्रमा समेत प्रकाशन गरिसकेको छ ।

सामाजिक संस्था सञ्चालन गर्दा १३ जना कर्मचारीले सेवा दिएकाले अहिले पनि महानगरले त्यसलाई निरन्तरता दिएको छ । पहिलेदेखि काम गर्दै आएका सबै कर्मचारीलाई सेवामा निरन्तरता दिइरहने महानगरको प्रतिबद्धता छ । यहाँका केही कर्मचारीलाई भने महानगरका अन्य वडामा पनि पठाउन सकिने महानगरपालिको जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्