Logo

प्रचण्ड र शेखरबीच दुई पटक लगातार भेटवार्ता, दुवै पक्षले भेटवार्ता किन लुकायो ?



काठमाडौं, २८ भदौ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. शेखर कोइराला कांग्रेस–एमालेको सरकार बनेपछि मौन बसेका छन् । यसअघि दुई दल मिलेर संविधान संशोधन गरेर मुलुलकलाई सही ट्रयाकमा हिँडाउनुपर्ने भनेर वकालत गर्दै आएका शेखर दुई दल मिलेर सरकार बनाएपछि भने मौन बसेका छन् ।

कतिपयले शेखरको मौनतालाई अर्थपूर्ण रुपमा लिएका छन् । अहिले शेखर समूहले सरकारको बचाउ भन्दापनि आलोचनामा समय खर्चिएको चर्चा कांग्रेसभित्रै हुने गरेको छ । शेखरले दुई दल मिलेरमात्रै संविधान संशोधन गर्न खोजिए गलत हुने भन्दै त्यसतर्फ नेतृत्वको ध्यानाकार्षण गराउँदै आएका छन् ।

शेखर समूहले सरकारको आलोचना बढाउँदै लगेपछि प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले पनि उच्चस्तरको भेटवार्ता गरेका छन् । दुवै नेता अहिलेको गठबन्धन टुटाउन नदिनेगरि कसिलोसाथ अघि बढेका छन् । प्रतिनिधिसभाको बैठकमा सरकारको सय दिन नपुग्दै विपक्षी दलका नेता पुष्पकमल दाहालले सरकारविरुद्ध खोलेको फायरपछि संसद्मा अर्कै परिदृश्य देखिएको छ ।

प्रचण्डले सामान्य संसदीय शिष्टता पनि नदेखाएर सय नदिन नपुग्दै सरकारको आलोचना गरेपछि एमाले पँक्ति आक्रामक बनेको छ । एमाले सांसद योगेश भट्टराईले माओवादीको मानमर्दन गर्नेगरि जनयुद्धलाई हिंसा भनेर पटक पटक बोलेको भन्दै प्रचण्डपनि फायर छन् ।

अहिले यो विषयले संसद्मा अवरोध र मुठभेडको संकेत देखिएको छ । सभामुख देवराज घिमिरले पनि योगेशले प्रयोग गरेको उक्त शब्द संसद्को रेकर्डबाट हटाउन नपर्ने रुलिङ आएपछि माओवादी पँक्ति झनै आक्रोशित बनेको छ । यसको साईड ईफेक्ट अब भदौ ३० गते बस्ने प्रतिनिधिसभाको बैठकमा देखिने माओवादीका एक सांसदले जानकारी दिए ।

अहिलेको कांग्रेस र एमालेको बलियो सरकारको बारेमा स्वयम यी दुवै दलका नेतृत्वले सरकार लामो समय जाने र गठबन्धन नभत्कने भनेर बारम्बार अभिव्यक्ति आएपछि राजनीतिमा संशय पैदा भएको छ । बलियो सरकार हुँदाहुँदै किन नेतृत्वले सरकारको आयुबारे शंका नगर्न भनेको भनेर स्वयम ती दलका नेताहरुले पनि आश्चर्य प्रकट गर्ने गरेका छन् ।

विपक्षी दलका नेता प्रचण्ड र कांग्रेस नेता शेखर कोइरालाबीच यो बीचमा दुई पटक लगातार छलफल भएको चर्चा छ । उनीहरुबीचको भेटवार्तासमेत अहिलेसम्म गुपचुप राखिएको छ । शेखर यतिवेला उपचारको लागि देशबाहिर छन् । प्रचण्ड भने पार्टीको कार्यक्रममा व्यस्त छन् ।

उनी भर्खरै कोशी र मधेश प्रदेशका कार्यक्रम सकेर काठमाडौं फर्किएका छन् । उनले काठमाडौं फर्किएलगत्तै प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवासँग भेटवार्ता गरेका छन् । तर, दाहाल र शेखरबीचको भेटवार्ता भने अहिलेसम्म गुपचुप राखिएको छ । शेखर स्वदेश फर्किएपछि दुई नेता पूनः छलफलमा बस्ने भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्