Logo

जनता आवास कार्यक्रमअन्तर्गत छ सय घर निर्माण



अत्तरिया (कैलाली), २८ भदौ । जनता आवास कार्यक्रमअन्तर्गत छ सय ३२ घर निर्माण सम्पन्न भएका छन् । सङ्घीयतापछि स्थापना भएको प्रदेश अन्तर्गतको सहरी विकास तथा भवन कार्यालय कैलालीले हालसम्म कैलाली र कञ्चनपुरका विभिन्न स्थानीय तहमा ती घर निर्माण गरेको हो ।

न्यून आय भएका दलित एवं विपन्न परिवारका लागि कैलालीमा दुई सय ६६ र कञ्चनपुरमा तीन सय ६६ घर निर्माण गरिएको कार्यालयका इञ्जिनीयर एवं सूचना अधिकारी रोहित अधिकारीले जानकारी दिए। उनका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकामा ४९, गोदावरी नगरपालिकामा ३८, घोडाघोडी नगरपालिकामा २८ र भजनी नगरपालिकामा २७ घर निर्माण गरिएका छन् ।

यसैगरी बर्दगोरिया गाउँपालिकामा २४, गौरीगङ्गा नगरपालिकामा १२, लम्कीचुहा नगरपालिकामा ३९, जानकी गाउँपालिकामा १९ र टीकापुर नगरपालिकामा ३० घर निर्माण गरिएको इञ्जिनीयर अधिकारीले जानकारी दिए।

यस्तै कञ्चनपुरको कृष्णपुर नगरपालिकामा ५६, पुनर्वास नगरपालिकामा ५०, बेलौरी नगरपालिकामा ४३, बेदकोट नगरपालिकामा ५६, भीमदत्त नगरपालिकामा एक सय ११ र महाकाली नगरपालिकामा ५० घर निर्माण गरिएको इञ्जिनीयर अधिकारीले जानकारी दिए ।

उनका अनुसार ६ सय पाँच घर सङ्घीय सरकारको बजेट र २७ घर प्रदेश सरकारको बजेटबाट निर्माण भएका हुन् । कञ्चनपुरको भीमदत्त नगरगपालिकामा निर्माण गरिएका एक सय ११ घरमध्ये २७ घर प्रदेश सरकारको बजेटबाट निर्माण भएको उनले बताए ।

घर निर्माणका लागि प्रतिपरिवार तीन लाख ३६ हजार उपलब्ध गराइएको थियो । उपभोक्ता समिति र लाभग्राहीको न्यूनतम १० प्रतिशत श्रमदानमा घर निर्माण गरिएका इञ्जिनीयर अधिकारीले बताए । आव २०७५/७६ देखि आव २०७९/८० को अवधिमा ती घर निर्माण सम्पन्न भएका हुन् ।

आव २०८०/८१ मा जनता आवासका लागि कैलालीमा चार करोड ३३ लाख र कञ्चनपुरमा चार करोड ४६ लाख ९४ हजार बजेट विनियोजन गरिएको थियो । जनता अवासका लागि चालु आवमा सङ्घीय सरकारबाट बजेट उपलब्ध नभएको उनको भनाइ छ । रासस



प्रतिक्रिया दिनुहोस्