Logo

दोर्दी केन्द्र जोड्ने सडकको यात्रा कष्टकर बन्दै



लमजुङ, २८ भदौ । लमजुङस्थित दोर्दी गाउँपालिकाको केन्द्र जोड्ने सडक समयमा निर्माण सम्पन्न नहुँदा यात्रा कष्टकर बन्दै गएको छ । सरकारले ‘एक पालिका एक सडक’ पुर्‍याउने अभियानअन्तर्गत अघि बढाएको यस पालिका जोड्ने उदीपुर–रिठ्ठेबगर–नौथर सडक वर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुँदा यात्रुलाई आवागमनमा समस्या हुँदै आएको हो ।

स्तरोन्नति तथा कालोपत्र सुरु गरिएको उक्त खण्डको काम दुई वर्षमा सक्नुपर्नेमा चार वर्ष बित्दासमेत सम्पन्न भएको छैन । ठाउँठाउँमा सडक खोतलिएको छभने कतिपय ठाउँमा पानी जमेर पोखरी बनिसकेको स्थानीय बताउँछन् ।

स्थानीय वासुदेव सेढाइँले भने, “मेरो आमा बिरामी परेर केही दिनअघि जिल्ला सदरमुकाम बेँसीसहरको लमजुङ अस्पतालमा एम्बुलेन्समा लैजाँदै थिएँ, हिलाम्मे भएर सडक बिग्रिएकाले एम्बुलेन्स चिप्लेर धन्नै दुर्घटनामा परिएन । आमाको ज्यान बचाउन जाँदा अर्को विपद्को सामना गर्नुपर्‍यो ।” सडक ठाउँठाउँमा हिलाम्मे हुँदा यात्रु हिँड्डुल गर्न तथा सवारीसाधन सञ्चालनमा समस्या भइरहेको उनको भनाइ छ ।

पालिकाको केन्द्र रहेको दोर्दी गाउँपालिका–४ नौथर सेराका मेखबहादुर घलेले यहाँबाट बेँसीसहर आउन सडकको दुरवस्थाका कारण दिनभरिजसो लाग्ने बताए । “ठाउँठाउँमा भत्किएको सडक हिलाम्मे छ । हिलोमा गाडी फस्ने समस्या छ । गाडी फस्न नदिन यात्रुहरुलाई ठाउँठाउँमा झर्दै र मिलाउँदै हिँड्नुपर्ने अवस्था छ । सामान्य रुपमा करिब दुई घण्टामा बेँसीसहर पुगिने भए पनि अहिले दिनभरि लाग्ने गरेको छ”, उनले भने ।

बेँसीसहर नगरपालिका–११ चितिका प्राविधिक शङ्कर श्रेष्ठले भने, “दोर्दी पालिका जोड्ने सडक सञ्जाल विस्तार भए पनि अधिकांश भाग यस वडाभित्रै पर्दछ । हामी पनि कामले यो सडक हुँदै हिँड्नुपर्छ, वर्षामा सडकले यात्रीले सास्ती दिएको छ ।”

सडक अवस्थाको स्थलगत अनुसन्धान गर्न वर्षाको समयमा पहिरोको जोखिम हुने भन्दै मानविय क्षति नहोस् भनेर अग्रसरता नलिइएको उनले बताए । दोर्दी गाउँपलिकासँग समन्वय गरी वर्षापछि सडक स्तरोन्नतिलाई तीव्रता दिन पहल गरिने प्राविधिक श्रेष्ठले उल्लेख गरे ।

दोर्दी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले सडकमा जताजतैबाट पानी जम्ने, हिलाम्मे हुँदा यात्रा गर्न सास्ती हुने गरेको बताए । ठेकेदारलाई गाउँपालिकाले मौखिक रुपमा समयमा निर्माणसम्पन्न गर्न आग्रह गर्दै आइरहेको भन्दै वर्षापछि कामलाई तीव्रता दिन दबाब सिर्जना गर्ने उनले उल्लेख गरे ।

जिल्लास्थित पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी नरेशराज जोशीले सडक सयममा सम्पन्न नहुँदा पानीले हिलाम्मे र खाल्डाखुल्डी बनाएकाले यात्रा असहज बनिरहेको बताए । उनले हालसम्म ६५ प्रतिशत भौतिक प्रगति भएको जानकारी दिए ।

ग्राभेल, ग्याबिन वाल, मेसिन वालको काम बाँकी रहेको उक्त कार्यालयले जनाएको छ । नाला बनाउने काम अधिकांश सकिएको छ । “कालोपत्रका लागि सववेस, बेस हाल्ने काम, स्टक्चरलगायत अन्य काम भइरहेको छ”, सूचना अधिकारी जोशीले भने । सम्झौता अनुसार विसं २०७९ असार २ गतेभित्र कालोपत्र गरिसक्नुपर्नेमा कोभिडका कारण निर्माण सुरु गर्न ढिलाइ भएको थियो । निर्माण कम्पनीले विसं २०७९ पुससम्ममा पुनःनिर्माणको जिम्मेवारी पाएको थियो ।

सो समयभित्र पनि निर्माण सम्पन्न नभएपछि पुनः म्याद थप गर्दै विसं २०८० असार २९ गतेसम्म सम्पन्न गर्ने सम्झौता भएको थियो । पुनः म्याद थप गरी आगामी मङ्सिर २८ गतेसम्म सम्पन्न गर्नेगरी सम्झौता भएको कार्यालयले जनाएको छ ।

थप गरिएको समयभित्रमा काम सम्पन्न गर्नुपर्नेमा जोड दिँदै सूचना अधिकारी जोशीले उक्त समयमा पनि नसकिए म्याद थप नहुने बताए । प्रदेश सरकारको २६ करोड २९ लाख ६ हजार दुई सय २५ लगानीमा सात दशमलव १२१ किलोमिटर सडक कालोपत्र हुन लागेको हो ।

हालसम्म रु १६ करोड ८६ लाख खर्च भइसकेको कार्यालयका सूचना अधिकारी जोशीले जानकारी दिए । पूर्वाधार कार्यालयका अनुसार बेँसीसहर नगरपालिका–१ उदिपुरबाट दोर्दी गाउँपालिका–४ मा दोर्दी गाउँपालिका जोड्ने यस सडकको अस्फाल्ट कालोपत्र हुनेछ । दुई ठाउँमा गरी एक हजार एक सय १३ घनमिटर सडक ढलान गरिनुका साथै चार सेन्टिमिटरको कालोपत्र हुने जनाइएको छ । रासस



प्रतिक्रिया दिनुहोस्