Logo

पहिरोले सुदूरपश्चिमका प्रमुख राजमार्ग अवरुद्ध



सुदूरपश्चिम,२८ भदौ । अविरल वर्षासँगै आएको पहिरोले सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । ठाउँ ठाउँमा गएको पहिरोका कारण धनगढी—डडेलधुरा (भीमदत्त) , डडेलुधरा —दिपायल (केआईसिंह) , बुडर—जोगबुढा सडक, खोड्पे—बझाङ (जयपृथ्वी) राजमार्गमा आवागमन अवरुद्ध भएको छ ।

यसैगरी डोटीको जोरायल सडक,र सहजपुर —बिपीनगर सडकमा पनि गएको पहिरोले बाटो अवरुद्ध भएको छ । राजमार्गमा गएको पहिरोका कारण गन्तव्य तर्फ हिँडेका यातायातका साधन बीचबाटैमै रोकिएका छन् ।

कैलालीको अत्तरियास्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले वर्षासँगै गएरातिदेखि विभिन्न राजमार्गमा गएको पहिरोले राजमार्गमा आवागमन अवरुद्ध भएको जनाएको छ । सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका सात जिल्लालाई जोड्ने भीमदत्त राजमार्गको छ÷सात ठाउँमा पहिरो जाँदा यातायात आवागमन अवरुद्ध भएको छ । आज मध्यान्हनसम्म यो राजमार्गको कतिपय ठाउँको पहिरो पन्छ्याइएको छ ।

अन्य कतिपय ठाउँको पहिरो पन्छ्याएर सडक यातायात सुचारु बनाउने प्रयास भइरहेको कार्यालयका प्रहरी सहायक निरीक्षक गङ्गादत्त भट्टले जानकारी दिए । अविरल वर्षासँगै सडक डुबानमा परेपछि कञ्चनपुरको डोके बजारदेखि बेलौरी सडक खण्डमा पनि आवागमन अवरुद्ध भएको छ ।

वर्षासँगै कैलालीको भजनी, जानकीनगर, पथरैया, कैलारी, जोशीपुर लगायतका कतिपय बस्तीमा डुबान भएको छ । जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । अबिरल वर्षासँगै महाकाली, कर्णाली, ठूलीगाड, मोहना, खुटिया, कान्द्रा, घुरुवा, शिवगङ्गा, कटैनी लगायतका नदीमा पानीको बहाब बढेको छ । कर्णाली नदीमा मध्यान्हसम्म पानीको सतह १० दशमलब ६५ मिटर (खतराको तहमा) पुगेको गेज रिडर पार्वती गुरुङले जानकारी दिए । खुटिया र मोहना नदीमा पनि पानीको बहाव खतरा तह नजिक पुगेको छ ।

कैलाली र डोटीका जिल्ला प्रशासन कार्यालयले शनिबारसम्ममा कैलाली र डोटीसहितका जिल्लामा अतिभारी वर्षाको सम्भावना रहेकोले उच्च सतर्कता अपाउन अनुरोध गरेको छ । वर्षासँगै धनगढी उपमहानगरपालिका क्षेत्र जलमग्न हुँदा कतिपय बस्तीमा दुई÷तीन फिटसम्म पानी जमेर आवागमन असहज बनेको छ । हावाहुरीसहित भएको वर्षाले बिजुलीका खम्बा ढल्दा धनगढीका केही टोलमा विद्युत् आपूर्तिसमेत बन्द भएको छ ।

पहिरोले अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

पहिरोले अवरुद्ध कर्णाली राजमार्ग दुई दिन लगाएर पहिरो हटाएपछि सडक सञ्चालनमा आएको छ । बुधबार परेको अविरल वर्षाले कर्णाली राजमार्ग सडक खण्ड अन्तर्गत कालीकोट जिल्लाको शुभकालिका गाउँपालिका– १ स्थित गगनेखोला, हुल्म र एसमोडमा आएको पहिरो पूर्णरुपमा पन्छ्याएपछि सडक खुलेको्रे सडक डिभिजन कार्यालय जुम्लाका निमित्त प्रमुख चेतनकुमार मण्डलले जानकारी दिए।

उक्त क्षेत्र निरन्तर पहिरो आउँदा राजमार्ग भएर आवतजावत गर्ने सवारीसाधनदेखि यात्रुलाई सकसहुने गरेको छ । सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले कालीकोट क्षेत्रका विभिन्न ठाउँमा निरन्तर पहिरो आउँदा राजमार्ग अवरुद्ध हुने गरेको छ ।

गगनेखोलामा सबैभन्दा बाढी पहिरो जाने गरेको छ । यो आवमा उक्त क्षेत्रमा सडकलाई स्तरोवृद्धि गरिने भएको छ । राज्यले बजेट विनियोजनमा कर्णाली राजमार्गलाई प्रथामिकतामा राखेको छैन । निर्माण कम्पनीले राम्रोसँग काम नगर्दा वर्षाको याममा सडक अरुवद्ध हुने गरेको सडक डिभिजन कार्यालय सूचना अधिकारी जिटीको भनाइ छ ।

राजमार्गको स्तरोन्नति नहुँदा हिउँदमा धुलो र वर्षायाम बाढीपहिरोका कारण यात्रुले सास्ती भोग्नुपर्ने अवस्था रहेको छ । राजमार्गको स्तरोन्नति नहुँदा कर्णालीवासी बाह्रैमास निकै सास्ती खेप्दै आएका छन् । रासस/file photo



प्रतिक्रिया दिनुहोस्