Logo

उपसभामुख रानालाई नहटाउनेमा प्रचण्ड ढुक्क



काठमाडौं, २९ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले उपसभामुख इन्दिरा रानालाई हटाउने निर्णयबाट कांग्रेस र एमाले ब्याक हुने विश्वास व्यक्त गरेका छन् । पत्र लेखेकै आधारमा पदबाट हटाउने तहसम्म जान नहुने भन्दै उनले उपसभामुख रानाको बचाउ गरे । आज (शनिबार) विराटनगर विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

उनले भने,‘‘उपसभामुखजी एउटा इमानदार, जनजाति महिला, बालबच्चाको लागि ख्याँतिप्राप्त हुनुहुन्छ । उहाँले टेक्निकल्ली केही कुरा नजानेर त्रुटी गर्नुभयो । त्यसको सजाय उपसभामुखबाट हटाउनेसम्म जानु हुँदैन भन्नेमा हामी दृढ छौँ । सायद उहाँलाई हटाउने कुराबाट कांग्रेस–एमाले नै पछि हट्नु हुन्छ होला।’

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटमा र संवैधानिक परिषद्को बैठकमा समेत प्रचण्डले उपसभामुख हटाउने तयारीबारे जिज्ञासा राखेका थिए । साथै, उनले तत्काल यस्तो कदम चालिए गतल हुने भन्दै उपसभामुख रानाको बचाउ गरेका थिए ।

यस्तै, प्रचण्डले एमाले सांसद योगेश भट्टराईले जनयुद्धलाई ‘हिंसा’ भनेर सुरु भएको विवादको निरुपण नभएसम्म सदन चल्न नदिने चेतावनी दिए । उनले हिंसा शब्दको विषयमा सदनमा भएको बहस नटुङ्गिएसम्म संसद् चल्न नदिने चेतावनी दिँदै भने,‘एमालेका साथीहरूले जनयुद्धलाई ‘हिंसा’ भनेर अपभ्रम गर्ने, अपव्याख्या गर्ने र भ्रम छर्ने काम भइरहेको छ । त्यो विषयको सम्बोधन नभएसम्म संसदमा विरोध जारी रहन्छ ।’ file photo



प्रतिक्रिया दिनुहोस्