Logo

‘हिंसा’ शब्दको विवादबारे छलफल गर्न सभामुखले बोलाए प्रमुख दलका सचेतक



काठमाडौं, भदौ ३० । सभामुख देवराज घिमिरेले राष्ट्रिय दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक र सचेतकलाई बैठकका लागि बोलाएका छन्।

अहिले बिहान ११ बजे सिंहदरबारमा बस्नेगरी सभामुखले बोलाएको बैकमा एमालेका सांसद योगेश कुमार भट्टराईले भदौ १२ गते प्रतिनिधि सभा बैठकमा प्रयोग गरेको ‘हिंसा’ शब्द हटाउन माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले गरेको नियमापत्तिमा सभामुखले गरेको निर्णय र निर्णयमा असहमति जनाउँदै संसद् अवरोध गरिएको विषयमा छलफल हुँदैछ ।

भदौं २५ गते माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले दलका नियमापत्तिको निर्णय सुनाउन अन्तिम अल्टिमेटम दिएका थिए । अन्यथा संसद्मा विषय उठाउने भनेका थिए । सभामुखले कतिपय विषयहरू राजनीतिक प्रकृतिका हुने भएकाले समय लिएरै निर्णय गरौँ भन्दा पनि रोकिने अवस्था रहेन । भदौं २६ गते बिहान पनि प्रमुख सचेतक पाण्डेले निर्णय सुनाउन भनेपछि अन्तिम अवस्थामा सभामुख घिमिरे निर्णय सुनाउने अवस्थामा पुगेका थिए ।

सभामुखले निर्णय लिन प्रतिनिधि सभा नियमावलीको नियम २१ र २६ हेरेका छन् । नियमावलीमा ‘उठाइएको नियमापत्तिको निर्णय सभामुखले गर्नुहुनेछ र सो निर्णय अन्तिम हुनेछ’ भन्ने उल्लेख छ । सभामुखको निर्णय नै नमान्ने विपक्षी दलको अडानले संसद्मामा अन्यौलता सिर्जना गरेको छ ।

सभामुखले ‘हिंसा’ शब्दबारे दलहरूलाई साझा धारणा बनाउन, सुझाव दिन र निर्क्योल गर्न कार्यव्यवस्था परामर्श समितिको भदौ १८ गतेको बैठकमा वृहत् छलफल गरेका थिए । त्यहाँ पनि सत्ता पक्ष र विपक्षको आ–आफ्ना दलिल रहे । बरु सभामुखले सुझाव नै लिनु नपर्ने विषयमा किन सुझाव लिएको र सभामुखीय अधिकार प्रयोग गर्न कतिपय माननीयहरुले सुझाव दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्