Logo

इरानमा बाढीका कारण १५ जनाको मृत्यु , उद्धार अभियान समाप्त



तेहरान, १५ असोज । इरानको दक्षिणी सहरमा आएको आकस्मिक बाढीले छ जनाको मृत्यु भएको प्रारम्भिक तथ्याङ्कलाई अपडेट गर्दै कुल १५ जनाको मृत्यु भएको राष्ट्रिय सञ्चारमाध्यमले मङ्गलबार जनाएको छ ।

“हलिल नदीमा आएको बाढीकारण बेपत्ता हुनेमध्ये अन्तिम शव जिरोफ्टमा फेला परेपछि कुल १५ जनालाई मृत घोषित गरिएको छ”, आधिकारिक इर्ना समाचार समितिले बताए । त्यससँगै खोजी र उद्धार अभियान समाप्त भएको इर्नाले जनाएको छ ।

सोमबारको बाढीमा परी मृत्यु भएका लगभग सबै इस्लामिक गणतन्त्रमा बसोबास गर्ने अफगान नागरिक रहेको इरानको आइएसएनए समाचार समितिले जनाएको छ ।

जिरोफ्ट सामान्य रूपमा सुख्खा दक्षिणी प्रान्त केरमानमा अवस्थित एउटा सहर हो ।

इरानले विगत एक दशकमा बारम्बार विनाशकारी बाढीको सामना गर्दै आएको छ । सन् २०२२ मा इरानको दक्षिणी क्षेत्रमा आएको भारी वर्षाले कम्तीमा ८० जनाको ज्यान लिएको थियो र करिब २० करोड डलरको क्षति भएको अनुमान गरिएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्