Logo

तत्काल प्राकृतिक संकटकाल घोषणा गरौं, प्रधानमन्त्री ओली र मेयर शाहबीच हात हालाहालमात्रै बाँकी छ : सुरेन्द्र केसी



काठमाडौं, १५ असोज । नागरिक समाजका अगुवा तथा राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले अहिले तत्काल देशमा प्राकृतिक संकटकाल घोषणा गर्नुपर्ने माग गरेक छन्।

आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको भूमिकाको भने आलोचना गरे । उनले भने,‘मैले त प्रधानमन्त्रीलाई भ्रमण छोट्याएर आउन भनेको थिएँ । तर, उहाँ पूरा अवधि बसेर आउनुभयो । अब उहाँ आउँदा एयरपोर्ट नै अवरुद्ध थियो । फेरि यात्रुहरुले पनि दुःख पाउने स्थिति, यी अवस्थाहरु छन् । मैले देख्दाखेरि हामी कोही पनि सुध्रिने बाटोमा छैनौं । हाम्रा सबैका आ–आफ्ना कुराहरु छन् । यसबाट कहिल्यैपनि गन्तव्यमा पुग्न सक्दैनौं ।’

उनले बाढी तथा पहिरो प्रभावितहरुको उद्धारमा दलका भातृ संगठनको भूमिका नदेखिएको भन्दै आलोचना गरे । तर, काभ्रेका चणिकलाल तामाङले आफ्नो ज्यानको परवाह नगरी दुई जनालाई नख्खु खोलाबाट उद्धार गरेकोमा भने उनले प्रशंसा गरे । उनले भने,‘कति वटा वाईसिएलले, कति वटा युथ फोर्सले र कति वटा तरुण दलले त्यो हिम्मत गरे त ? अहिले टिचरलाई कुट्नुपर्ने भए र दुर्गा प्रसाईंलाई कालो मोसो लगाउनुपर्ने भए उनीहरु पछि हट्थे ? खोई त बोलेको तपाईंहरु ?’

देशमा पुरस्कार र दण्डको व्यवस्था नभएसम्म राम्रो थिति नबस्ने बताए । उनले नख्खुबाट दुई जनाको उद्धार गर्ने तामाङलाई सशस्त्र प्रहरी बलमा सिधै ईन्स्पेक्टर बनाईनुपर्ने प्रस्ताव गरे । उनले भने,‘केटो त हिम्मतवाला रहेछ । त्यसले कमाण्ड गर्न पायो भने राम्रो काम गर्न सक्छ नि । राम्रो काम गर्नेलाई रिवार्डको व्यवस्था गर्नुपर्छ ।’

उनले देशमा दीर्घकालिन र अल्पकालिन सडकको व्यवस्था हुनुपर्नेमा जोड दिए । उनले दशैं यसपटक काठमाडौंमै बसेर मनाउनुपर्नेमा जोड दिए । उनले आमा–बुवासँग दशैंको आशीर्वाद अनलाईनमै लिनपनि सुझाए । उनले अहिले प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौंका मेयरबीच हात हालाहालमात्रै गर्न बाँकी रहेको सुनाए ।

न्यूरोडको सडक विस्तार गर्ने कुरा जटिल रहेको कुरा दृश्य देखिएको उनले स्मरण गराए । न्यूरोडको सडक विस्तारको सवालमा मेयर शाहको गलत आफूले नदेखेको पनि उनको भनाई छ । उनले विकास निर्माणमा राजनीति नगर्न दलका नेताहरुलाई सुझाव दिए ।



प्रतिक्रिया दिनुहोस्