Logo

इरानमा अनेकौ यातना भोग्नुपरेको निर्वासित अफगानी शरणार्थीहरूको गुनासो



इस्लाम काला, अफगानिस्तान, १६ असोज । इरानसँग अफगानिस्तानको सीमाबाट अफगानी शरणार्थीहरु बच्चा च्यापेर, आफ्नो सम्पूर्ण सांसारिक सम्पत्ति झोलामा अटाएर स्वदेश फर्किरहेका छन् ।

प्रत्येक दिन तीन हजार अफगानी जसमध्ये कोही इरानमा जन्मेका थिए, आफ्नो उज्ज्वल जीवन जिउने प्रयास असफल भएपछि स्वदेश फर्किरहेका छन् ।

“शरणार्थीहरूले धेरै शारीरिक र मानसिक यातनाको सामना गर्नुपरेको छ”, इस्लाम कालाको सीमावर्ती सहरमा आगमन दर्ता गर्ने अधिकारी अब्दुल घानी काजीजादाले बताए ।

कोही अवैध रूपमा इरान प्रवेश गरेका र कोहीको भिसा म्याद सकिएका कारण उनीहरु आफ्नो देश फर्कन बाध्य भएका हुन् । लगभग ९० प्रतिशतलाई अफगानीलाई इरानबाट निर्वासित गरिएको छ भने बाँकी स्वेच्छाले फर्किरहेका छन् ।

“उनीहरूलाई १८ वर्ष माथिका जो कोहीले १० करोड तोमान बैङ्कमा जम्मा गराउनुपर्ने अन्यथा एक हप्ताभित्र इरान छाड्न चेतावनी दिइएको थियो”, काजीजादाले भने।

यी शरणार्थीहरू देश भित्रनु अघी अफगान अधिकारीले दर्ता गरिरहेका छन् र आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठनद्वारा जाँच गरिएका छन् । आफ्नो परिवारसँग जीवन पुनर्निर्माण गर्न फर्किरहेका शरणार्थीका लागि प्रति व्यक्ति दुई हजार अफगानी दिइने व्यवस्था गरिएको छ भने एक्लै फर्किनेको हकमा यो सुविधा लागू गरिएको छैन ।

३६ वर्षीया रमजान अजिजी आफ्नी श्रीमती र तीन बच्चासहित आगमन दर्ता गराउन पर्खिरहेको थियो । उनी सन् २०२३ मा एक दलाललाई १ हजार २२० डलर दिएर अवैध रूपमा इरान प्रवेश गरेको थियो । तर बढ्दो बेरोजगारी साथै अन्तर्राष्ट्रिय प्रतिबन्ध अन्तर्गत देशमा अपराधको आरोपमा अफगानहरूले बढ्दो शत्रुताको सामना गर्नुपरेको छ ।

२६ वर्षीया फाजिला कादेरीले राजधानी तेहरान नजिकैको करज शिविरमा आफू र आफ्नो पतिले भोगेका कष्टको स्मरण गरे ।

“सुरक्षाकर्मीले पुरुष र महिलामा कुनै भेद नगरी हामीलाई छ वा सात दिनसम्म लठ्ठीले धेरै कुटपिट गरे”, उनले बताए । कुटपिटका कारण उनको पतिको हड्डी भाँचिएको थियो । उनी मध्य–उत्तरी प्रान्त काजभिनमा एकजना तस्करलाई पैसा दिएर चार वर्षअघि इरान आएको थियो ।

वैध पासपोर्ट र भिसा हुँदाहुँदै पनि आफूलाई पक्राउ गरी इरानबाट निष्कासन गरिएको २९ वर्षीया मजदुर अब्दुल बसीरले बताए । “पासपोर्ट लिएर म १० दिनका लागि सैन्य शिविर मा पुगेँ”, उनले भने । उनले एक पटक शिविरमा घाइते हुनेगरी कुटपिट गरिएको बताए ।

सुरक्षाकर्मीहरूले अफगानी पासपोर्ट वा वैध इरानी निवास अनुमतिहरू च्यातेको पनि उनले दावी गरे । तसर्थ उनलाई अफगान पासपोर्ट बिना अफगानिस्तान निर्वासित गरियो ।

सीमामा रहेका अफगानी अधिकारी काजीजादाले करिब ७० प्रतिशत शरणार्थीलाई इरानी कागजातबिना फिर्ता पठाइएको जानकारी गराए ।

अफगानिस्तानका विदेशमन्त्री अमिर खान मुत्ताकीले सेप्टेम्बरको अन्त्यमा तेहरानलाई “ इरानको विकासमा योगदान पुर्याएका अफगानी शरणार्थीलाई“ सहयोग गर्न आग्रह गरेको थियो ।

इरानी राष्ट्रपति मसूद पेजेस्कियनले गत महिना तेहरानले अवैध नागरिकहरूलाई “सम्मानजनक ढङ्गले” आफ्नो देशमा फिर्ता गरिरहेको बताएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्