नेपालगन्ज, १६ असोज । यहाँको बागेश्वरी मन्दिर परिसरमा थुप्रिएको फोहोर लामो समयदेखि व्यवस्थापन हुन सकेको छैन । फोहोर व्यवस्थापन नहुँदा मन्दिर क्षेत्रको सौन्दर्य बिग्रनुको साथै दुर्गन्धित हुन थालेको छ ।
नेपालगन्जका सामाजिक अगुवा नन्दलाल वैश्यले प्रसिद्ध बागेश्वरी मन्दिर क्षेत्रमा फोहोरको व्यवस्थापन नहुनु दुःखद भएको बताए । उनले पटकपटक उपमहानगरपालिकालाई ध्यानाकर्षण गराएपनि फोहोर नउठाएको गुनासो गरे । मन्दिर परिसरको तलाउमा भएको फोहोरले मन्दिरको सौन्दर्य बिग्रँदै गएको र नवरात्र सुरु हुन लागेकाले अविलम्ब सरसफाइ गर्न उनको आग्रह छ ।
मन्दिर व्यवस्थापन समिति र उपमहानगरपालिका उदासीन भएको आरोप वैश्यको छ । मन्दिर व्यवस्थापन समितिका सचिव गोपाल अधिकारीले नवरात्र सुरु हुन लागेकाले सरसफाइमा ध्यान दिइएको बताए । उनले केही दिनमा मन्दिर परिसरको तलाउ सफा हुने जानकारी दिए । जुङ्गे महादेव मन्दिरको पुनःनिर्माण भएकाले सरसफाइमा ढिला भएको उनको भनाइ छ ।
जुङ्गे महादेव मन्दिरस्थल पुनःनिर्माण समयमा पूरा हुन नसक्दा त्यससँग सम्बन्धित काम प्रभावित भएका छन् । मन्दिर परिसरको तलाउमा घाँस र झार उम्रिएको छभने पानीका बोतलले तलाउ फोहोर देखिएको छ । मन्दिर परिसर क्षेत्रमा फोहोर थुप्रिन थाले पनि तलाउ क्षेत्रको सरसफाइमा गुठीले बेवास्ता गरेको स्थानीय बताउँछन् । रासस