मन्थली, असोज १७ । मन्थलीबाट दोलखाको किर्नेटार-चरिकोट हुँदै काठमाडौंसम्मको आवागमन बुधबार साँझदेखि खुलेको छ । गत बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षाका कारण गएको बाढीले किर्नेटार हाइड्रोपावर नजिक तामाकोशी नदीले कटान गरेको थियो ।
पाँच दिनपछि अस्थायी रूपमा किर्नेटारमा रहेको खिम्ती प्रोजेक्ट स्कुलको बीच भाग हुँदै नेपाली सेनाको क्याम्प क्षेत्रको भित्री भागबाट ट्रयाक खोलेर सडक सञ्चालनमा ल्याइएको हो । रामेछापको मन्थलीबाट दोलाखाको किर्नेटार-चरिकोट-मुडे हुँदै सिन्धुपाल्चोकको खाडीचौर हुँदै काठमाडौं आवतजावत गर्ने गरिन्छ ।
वर्षाका कारण सुनकोशीको बाढीले सिन्धुलीको खुर्कोटस्थित पुल बगाएपछि र दोलखाको किर्नेटारको बाटो तामाकोशीले कटान गरेपछि मन्थली-काठमाडौं आवागमन शनिबारदेखि अवरुद्ध थियो । सडक खुलाउन जिल्लाका सबै राजनीतिक दल, संघीय र प्रदेशका पूर्व तथा वर्तमान सभा सदस्य, स्थानीय प्रशासन, स्थानीय तह, समाजसेवीलगायत सबैको पहल रहेको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताए ।
सडकमार्ग खुलेपछि दसैँका लागि जिल्ला भित्रिने मानिस र खाद्यान्नलगायत अन्य सामग्रीका लागि सहज भएको छ । यसअघि खुर्कोटको पुल निर्माण नहुँदा पनि रामेछापवासी यही बाटो भएर मन्थली-काठमाडौं आवतजावत गर्थे ।
काठमाडौंबाट नेपालथोक हुँदै खुर्कोटको पुल तरेर मन्थली जान एक सय २६ किमी पार गर्नुपथ्र्यो भने यस मार्गमार्फत यात्रा गर्दा मन्थली-काठमाडौंका लागि दुई सय किलोमिटर यात्रा गर्नुपर्छ । रासस