Logo

वरियारपुरमा लाग्ने पञ्चवर्षीय गढीमाई मेलाको लागि आज भव्य शोभा-यात्रा निकालियो



वरियारपुर (बारा), १७ असोज । बाराको प्रसिद्ध गढीमाई मन्दिरमा लाग्ने पञ्चवर्षीय मेलाको आज (बिहीबार) विधिवत् रूपमा शोभा यात्रा निकालेर उदघाटन गरिएको छ । हरेक पाँच वर्षमा अपार हर्षोल्लासका साथ गढीमाई माताको मन्दीरबाट पञ्चे बाजासहित निस्किएको शोभा यात्रा २० किलोमिटरको यात्रा तय गरेर पुनः गढीमाईको मन्दीरमा आएर सम्पन्न भएको हो ।

बारा जिल्लाको महागढीमाई नगरपालिकाको वरियारपुरमा अवस्थित् माता गढीमाईको मन्दीरमा आज विहानैदेखि हजारौं श्रद्धालु भक्तजनहरु शोभा यात्रामा सहभागी भएका थिए । विहान १० बजे सुरु भएको भव्य शोभा यात्रामा हात्ती, घोडा, उँट, विभिन्न झाँकीसहित दुलदुल घोडा, खुर्दक बाजासहित सहभागी हुँदा गढीमाई मेलाको रौनक नै बेग्लै देखिएको थियो ।

मौसम प्रतिकुल भएपनि माताको कृपा एवं आगमनको धुनसंगै शोभा यात्रा निर्विध्न रूपमा गढीमाई मन्दिरबाट सुरू भई वरियापुर गाउँ हुँदै वरियारपुर इनर्वा चोक, तेलकुवा चोक हुँदै नहर वसन्तपुर चोक, मटिअर्वा चोकदेखि शितलपुर–विश्राम्पुर, कलैया भरत चौक, गुप्ता पेट्रोल पम्पदेखि अन्सारी पेट्रोल पम्प, अदालत रोड रामपुर–विजुलपुरदेखि गंजभवानीपुर दहिया हुँदै गढिमाई मन्दीरसम्म आएर २० किलोमिटरको शोभा यात्रा सम्पन्न भएको महागढीमाई नगरपालिकाको नगर प्रमुख तथा मेला मूल व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र प्रसाद यादवले बताए ।

आउदो मंसिरमा लाग्ने गढीमाई पञ्चवर्षीय मेलाका लागि आज भव्य शोभा यात्रा निकालिएर आधिकारीक रुपमा मेलाको सुरुवात भएको उनको भनाई छ । शोभा यात्रामा हजारौं हजार श्रद्धालु भक्तजनहरूको उपस्थिति रहेको समितिका अध्यक्ष तथा महागढीमाई नगरपालिकाका नगर प्रमुख यादवले जानकारी दिए । उनकानुसार मन्दिर परिसरबाट निस्किएको शोभायात्राले कलैया उपमहानगरपालिकालगायत १३ गाउँ भएर करिव २० किलोमिटर सम्मको परिक्रमा गरी विधिवत रुपमा सम्पन्न गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्