Logo

विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्दा विभेद गरिएको प्रभु साहको आरोप, साम्प्रदायिक पराकाष्ठा सच्याउन माग



काठमाडौं, १८ असोज । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सरकारले बाढी, पहिरोबाट प्रभावित जिल्ला घोषणा गर्दा विभेद गरेको भन्दै तत्काल सच्याउन माग गरेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको आज (शुक्रबार) बसेको बैठकले १४ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो ।

सोलगत्तै पूर्वमन्त्री साहले सरकारको उक्त निर्णयको विरोध गरेका हुन् । उनले १४ जिल्लालाई मात्र विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्नु गैरजिम्मेवार एवं सम्प्रदायिकताको पराकाष्ठा भएको संज्ञा दिए । उनले सरकारलाई उक्त निर्णय तुरुन्त सच्याउन विशेष आग्रह गरेका छन् ।

साहले बाढिबाट मधेश प्रदेशका जिल्लाहरु अति प्रभावित बनेको र अहिलेपनि हजारौंको संख्यामा मधेशका नागरिक विस्थापित हुनु परेको बताएका छन् । रौतहट, बारा, पर्सा, धनुषा, सिराहाका जनता अहिलेपनि बाढीबाट प्रत्यक्ष प्रभावित बनेको सुनाउँदै उनीहरुलाई विभेद गर्नु राज्यको चरम लापरवाही र उदासिनता भएको उनको टिप्पणी छ ।

सरकारले घोषणा गरेका संकटग्रस्त १४ जिल्लामा ताप्लेजुङ, काभ्रे, पाँचथर, काठमाडौँ, संखुवासभा, ललितपुर, सोलुखुम्बु, भक्तपुर, दोलखा, सिन्धुली, रामेछाप, मकवानपुर, सिन्धुपाल्चोक र धादिङ रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्