काठमाडौं, असोज १९ । त्रिभुवन राजपथ र पृथ्वी राजमार्गमा सवारी जामको समस्या कम गर्न आजदेखि निर्माण सामग्री बोकेका ठूला मालवाहक सवारी राजधानी प्रवेशमा रोक लगाईएको छ ।
हिन्दुहरुको महान् पर्व वडादसैँ सुरु भईसकेको संघीय राजधानी काठमाण्डौंबाट पर्व मनाउन राजधानीबाट बाहिरिने सवारीका साधनहरूको चाप अत्यधिक बढेको छ । यात्राका क्रममा सवारी जामका कारण यात्रुहरूले सास्ती खेप्नु नपरोस भन्ने उद्देश्यले टेलर लगायतका सवारी राजधानी प्रवेशमा रोक लागाइएको हो ।
यस वर्ष गत वर्षको दसैँमा भन्दा पृथ्वी राजमार्ग हुँदै राजधानी बाहिरिने र राजधानी भित्रने सवारीका साधनहरूको चाप दोब्बरले वृद्धि भएको छ । बिपी राजमार्ग गत साताको बाढी र पहिरोका कारण बिग्रिएपछि पूर्वी नेपालको अधिकांश जिल्लाहरू र मधेस प्रदेश क्षेत्रमा जाने सवारीका साधनहरुले पृथ्वी राजमार्ग र त्रिभुवन राजपथ नै प्रयोग गरेका छन् ।
विशेष गरी चितवनको नारायणघाटदेखि काठमाडौँसम्म ट्रेलरसहितका ठूला सवारी सञ्चालनमा रोक लगाउने निर्णय यातायात व्यवस्था विभागले गरेसँगै स्थानीय प्रशासनले सोको कार्यान्वयन गरेको हो ।
घटस्थापनादेखि कार्तिक १ गतेसम्म ट्रेलर र अन्य ठूला गाडी सञ्चालनमा रोक लगाउने निर्णय यसअघि नै गरेको थियो । यात्रुवाहक गाडीलाई प्राथमिकता दिने गरी ठुला गाडी सञ्चालनमा रोक लगाउने निर्णय गरिएको हो । औषधि र तरकारीलगायत दूध बोकेका बाहेक अन्य ठुला गाडी आउँदो कार्तिक १ गतेसम्म बन्द रहने छ ।