Logo

त्रिशूलीको बाढीले दुई जिल्ला जोड्ने झोलुङ्गे पुल जोखिममा



१९ असोज, दमौली (तनहुँ) । गत असोज ११ र १२ गतेको अविरल वर्षापछि त्रिशूली नदीमा आएको बाढीले दुई जिल्ला जोड्ने झोलुङ्गे पुल जोखिममा परेको छ ।

त्रिशूली नदीमा आएको बाढीले तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९ जोड्ने घुमाउनेको झोलुङ्गे पुल जोखिममा परेको हो ।

बाढीले पुल जोखिममा परेपछि आवतजावतमा समस्या भएको आँबुखैरेनी–५ का वडाध्यक्ष सन्तोष गुरुङले जानकारी दिए । घुमाउनेमा निर्माणाधीन पक्की पुल विगत १० वर्षदेखि अलपत्र हुँदा यस भेगका सर्वसाधारणलाई आवतजावतका लागि यो पुलमात्रै विकल्प हो ।

पुल पनि बाढीले जोखिममा परेपछि हिँडडुलमा समस्या भएको वडाध्यक्ष गुरुङको भनाइ छ । ‘घुमाउनेका सर्वसाधारण यही पुल प्रयोग गरी मुग्लिन–नारायणगढ खण्डमा निस्किएर यात्रा गर्छन्, पुल खतरामा परेको छ’, उनले भने ।

दशैं सुरु भएसँगै सर्वसाधारणको आवतजावत बढेको र पुलको जोखिमका कारण समय मिलाएर पुल वारपार गर्ने व्यवस्था मिलाइएको गुरुङले बताए । बाढीले गर्दा पुल नै कोल्टिएको छ ।



प्रतिक्रिया दिनुहोस्