Logo

‘आँटेको पुर्‍याइदेऊ रेशम बागलुङ कालिका…’



गण्डकी, १९ असोज । नवरात्रको तेस्रो दिन शनिबार सखारैदेखि बागलुङस्थित कालिका भगवती मन्दिरमा भक्तजनको चहपहल देखिन्थ्यो । कोही पूजाका सर्जाम थालीमा सजाएर लाममा उभिएका थिए । कोही भाकलको बोका डो¥याइरहेका त कोही भाले कोखिलामा च्यापरिहेका देखिन्थे । शक्तिरुवरुपा देवी कालिकाको पूजाअर्चनाका लागि टाढा–टाढाबाट दर्शनार्थी बागलुङ आइपुगेका थिए । मन्दिरको माहोलले दसैँ आएको आभास दिलाएको थियो ।

भक्तजनहरु एकापसमा शुभकामना साटिरहेका थिए । मन्दिर परिसरको वातावरण पर्वमय बनेको थियो । पूजाआजाका लागि व्यग्र भक्तजनले धर्मप्रतिको आफ्नो आस्थालाई झल्काइरहेका थिए । घण्टौँसम्म लाममा उभिँदा पनि उनीहरु शान्त र धैर्य देखिन्थे ।

पर्वतको पातीचौरकी चीनमाया पुनले विदेशमा रहेका छोराछोरीले धूपध्वजा चढाइदिन भनेकाले उनीहरुको मनोकामनाका लागि कालिका मन्दिर आएको सुनाइन् । धर्मकर्ममा विश्वास भएकाले बेलाबखत पूजाआजाका लागि मन्दिर आउने गरेको उनको भनाइ थियो ।  भाले भाकल चढाउन म्याग्दीको सिँगाबाट आएका खड्कबहादुर कार्कीले मनले चिताएको पूरा हुने विश्वासमा भाकल गरेको बताए । देवी भगवतीको दर्शन गर्नाले मनले आँटेताकेको पूरा हुने जनविश्वासले भक्तजनहरु मन्दिर परिसरमा लामबद्ध थिए । 

मनोकाङ्क्षा पूरा गर्नकै लागि कतिपयले बोका, कुखुरा, हाँस, परेवा आदिको भाकल गरेका सुनाए । कोही भाकलको वाचा पूरा गर्न मन्दिर आएका भेटिए । बडादसैँको घटस्थापनादेखि मन्दिरमा भक्तजनको चहलपहल बढेको मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए। दसैँको फूलपाती र अष्टमीका दिनमा ठूलो सङ्ख्यामा भक्तजन आउने उनको भनाइ थियो । “बडादसैँभर बिहान तीन बजेदेखि नै मन्दिर खुला हुन्छ, यस अवधिमा दैनिक हजारौँ भक्तजन मन्दिर दर्शनका लागि आउनुहुन्छ”, उनले भने, “भक्तजनको सेवा सुविधा र सहजताका लागि पूजाको सम्पूर्ण व्यवस्थापन चुस्त बनाइएको छ ।” 


मन्दिरको सुरक्षा प्रबन्ध मिलाउन प्रहरी प्रशासन र स्वयंसेवक खटाइएको उनले बताए ।  मन्दिर परिसरमा आकस्मिक स्वास्थ्य सेवाकक्ष सञ्चालन गरिएको छ । भक्तजनको मनोरञ्जनका लागि नियमित भजन र साँझमा आरतीको प्रबन्ध मिलाइएको छ । नवरात्रभर पाँच लाख भक्तजनले मन्दिरको दर्शन गर्ने आँकलन गरिएको अध्यक्ष खड्काले बताए । यसपटकबाट भक्तजनलाई प्रसादी पनि वितरण गर्न सुरु गरिएको छ । विसं १५९१ मा बागलुङ नगरपालिका–१ मा स्थापित कालिका भगवती मन्दिरमा बर्सेनि बडादसैँ र चैतेदसैँमा विशेष मेला लाग्ने गर्छ । 

बडादसैँको पूजासँग कालिका भगवती मन्दिरको लामो इतिहास र परम्परा जोडिएको अध्यक्ष खड्काले बताए । मध्यकालमा पर्वत राज्य हुँदादेखि नै यस मन्दिरमा पूजाआजाको थिति बसेको इतिहासमा उल्लेख छ । तत्कालीन पर्वते राजा प्रतापीनारायण मल्लले पाल्पाका राजा मणिमुकुन्द सेनकी छोरीसँग विवाह गर्ने क्रममा दाइजोस्वरुप ल्याएको माझकी देवीको मूर्तिलाई अहिले कालिका मन्दिर रहेको ठाउँमा प्रतिस्थापन गरि पूजापाठ सुरु गरिएको किम्बदन्दी छ ।

पाल्पाली राजाले आफूले पूजाआजा गर्दै आएको माझकी देवीको मूर्ति छोरीलाई दाइजो दिएको र सो मूर्तिलाई पर्वत राज्यमा ल्याउने क्रममा यहाँ डोली बिसाएको इतिहासमा उल्लेख छ । पछि डोली उठाउन खोज्दा कसैले उठाउन नसकेपछि देवीको मूर्तिलाई यहीँ राखेर पूजापाठ सुरु गरिएको हो । तिनै माझकी देवीलाई अहिले कालिका भगवतीका रुपमा पूजिन्छ ।

सुरुमा खरले छाएको झुप्रोमा मन्दिर रहेको र पछि विभिन्न समयमा पुनःनिर्माण हुँदै मन्दिरले अहिलेको स्वरुप लिएको हो । उक्त मन्दिरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गरिन्छ । “देशका विभिन्न भूभागदेखि भारतसम्मका धार्मिक पर्यटक कालिका मन्दिर दर्शनका लागि आउने गर्छन”, अध्यक्ष खड्काले भने, “कालिका भगवती मन्दिर नेपालकै प्रसिद्ध धार्मिक शक्तिपीठका रुपमा चिनिन्छ ।” नवरात्रको अष्टमी र नवमीको दिन विशेष प्रकारले बलि दिएर पूजा गर्ने गरिएको छ । मन्दिरमा परेवा, कुखुरा, हाँस, बोका, सु्ङ्गुर र राँगोकोसमेत बलि दिइन्छ ।

नवदुर्गाका बेला विवाहको समेत शुभमूर्हत पर्ने भएकाले मन्दिरमा विवाह गर्न पनि उत्तिकै आउने गरेका छन् । विवाह, पूजाआजा, यज्ञ, भेटी, दान लगायतबाट मन्दिरको आम्दानी यस अवधिमा बढ्ने गरेको छ । विशिष्ट पहिचान बोकेको कालिका मन्दिरको महिमागान अनेक तबरबाट भइरहेको छ । गायक शुभराम भारी र गायिका बिमाकुमारी दुराले २३ वर्षअघिको गीतमा देवी कालिकालाई समेटेका थिए ।
‘आँटेको पु¥याइदेऊ रेशम बागलुङ कालिका…’



प्रतिक्रिया दिनुहोस्