Logo

राप्तीसोनारीमा वर्षाले धानबालीमा क्षति



नेपालगञ्ज (बाँके), २० असोज । जिल्लाको राप्तीसोनारी गाउँपालिकामा गएराति परेको अविरल वर्षाले भित्राउने बेलाको धानबालीमा क्षति पुर्‍याएको छ । यसअघि हावाहुरीले ढालेको धान काटेर भित्राउने याजनामा रहेका किसान गएरातिको वर्षाले क्षति पुर्‍याएपछि चिन्तित बनेका हुन् ।

bकाटेर भित्राउने बेलाको बाली कहिले हावहुरीले कहिले वर्षाले क्षति गराइरहेको राप्तीसोनारी–३ की बजारी थारुले बताए । “पानीले भिजेर धान खेतमा जमरा झै उम्रेको छ, अझै पानी आयो भने वर्षभरि खाने अन्न नष्ट हुन्छ”, उनले भने ।

करिब छ कट्ठा जमिनमा लगाएको महेन्द्र छ सय छ जातको धान भिजेको बताउँदै थारुले अहिले घाम देखिन थालेकामा खुशी व्यक्त गरे । यस बाहेक गाउँका करिब ११ परिवारको धानबालीमा गएरातिको वर्षाले क्षति पुर्‍याएको उनले जानकारी दिए ।

राप्तीसोनारीका किसान रणबहादुर थारुले आफ्नो सबै धानबालीमा वर्षाले क्षति पुगेको बताए । काटेर राखेको करिब १० कट्ठामा लगाएको बाली पानीले भिजाएको उल्लेख गर्दै उनले धान उम्रिने अवस्थामा पुगेको बताए । “मौसम सफा भए बाली भित्राउन पकिन्थ्यो कि ? घाम नलागे सबै धान जमिनमै नष्ट हुन्छ । वर्षभरि खाने अन्न नष्ट भए के खाने ?”, उनले प्रश्न गरे ।

स्थानीय पत्रकार विमला चौधरीले करिब २ घण्टा परेको वर्षाले किसानको धानबालीमा क्षति पुर्‍याएको उल्लेख गर्दै भिजेको धान सबै उम्रन थालेको उल्लेख गरे । राप्तीसोनारी–३ का वडाध्यक्ष मिनराज खड्काले वर्षाका कारण काटेर राखिएका र ढलेका धानमा केही क्षति पुगेको बताए ।

वडाध्यक्ष खड्काले वडा कार्यालयबाट क्षतिको विवरण सङ्कलन गर्न लागिएको बताए । उनका अनुसार राप्तीसोनारी–३ र ४ का करिब ११ परिवारका किसानको धानबालीमा क्षति भएको प्रारम्भिक तथ्याङ्क प्राप्त भएको छ । रासस



प्रतिक्रिया दिनुहोस्