मोरङ, २० असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मानव जीवनसँग प्रत्यक्ष जोडिएको स्वास्थ्य सेवामा स्वास्यकर्मीहरु संवेदनशील हुन आवश्यक रहेकोमा जोड दिएका छन् ।
प्रदेश स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ मा सञ्चालित स्वास्थ्य कार्यक्रमहरुको तीन दिने प्रदेशस्तरीय एकीकृत वार्षिक समीक्षा गोष्ठीको आज उद्घाटन गर्दै उनले स्वास्थ्यकर्मीहरुले जनशक्तिको कमी, सीमित साधन स्रोतका वावजुत नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरेकोमा प्रशंसा व्यक्त्त गरे ।
स्वास्थ्य मन्त्रालय समेत सम्हालेका मुख्यमन्त्री कार्कीले प्रदेशका स्वास्थ्य क्षेत्रमा आवश्यक साधन स्रोतको पूर्तिका लागि नीतिगत रुपमा बजेटको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले प्रदेश सरकारले जनशक्ति, बजेटको कमी, साधनस्रोतको अभाव, क्षेत्रअधिकारका कारण सोचअनुसार स्वास्थ्य क्षेत्रमा कार्य गर्न नसकेको गुनासो समेत व्यक्त्त गरे । मुख्यमन्त्री कार्कीले प्रदेशको स्वास्थ्य सेवा क्षेत्रमा प्रतिस्पर्धामा सङ्घभन्दा उत्कृष्ट बनाउन स्वास्थ्यकर्मीहरु लाग्नु पर्नेमा जोड दिए ।
मुख्यमन्त्री कार्कीले प्रदेशको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन डा महेन्द्र श्रेष्ठको अध्यक्षतामा एक कार्यदल गठन गरेको जानकारी दिँदै यसले दिएको सुझाव कार्यान्वयनले जनताले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास जनाए ।
स्वास्थ्य मन्त्रालयका कर्मचारीहरुको सरुवा, बढुवा र वृत्ति विकासलाई कार्यविधि बनाउन मापदण्डअनुसार कानुनद्वारा निर्देशित गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।
स्वास्थ्य निर्देशनालय धनकुटाका प्रमुख ज्ञानबहादुर बस्नेत, जनस्वास्थ्य प्रशासक योगराज घिमिरेले गोष्ठीबाट प्राप्त सुझावले आगामी दिन प्रदेशको स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा प्रदानमा सहयोग पुग्ने विचार राखे ।
गोष्ठीमा प्रदेशका १४ जिल्लाका मन्त्रालयअन्तर्गतका अस्पताल, निजी अस्पताल, शिक्षण अस्पताल, आयुर्वेद कार्यालयको सहभागिता छ । रासस