Logo

जनमत पार्टी सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा, नाउपा दशैंलगत्तै बाहिरिने !



काठमाडौं, २१ असोज । दशैंलगत्तै सत्ता समिकरणमा केही फेरबदल आउने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई समर्थन दिएका साना दलहरु नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले समर्थन फिर्ता लिनेगरि छलफल थालेका छन् । नाउपाबाट त अरुणकुमार चौधरी वर्तमान सरकारमा पर्यटन राज्यमन्त्रीको जिम्मोवरीमा छन् । सिके राउत नेतृत्वको जनमतले सरकारलाई समर्थन दिएको छ ।

तर, सरकारमा सहभागी भएको छैन् । तर, जनमतले कांग्रेस र एमालेको समर्थनमा नै मधेश प्रदेशको सरकारको नेतृत्व लिएको छ । यस्तोमा राउतले अब सरकारलाई समर्थन जारी राख्न नसकिने भन्दै दशैंलगत्तै समर्थन फिर्ता लिनेगरि पार्टीभित्र छलफल थालेका छन् । रेशम चौधरीको नाउपाले पनि दशैंलगत्तै नै सरकारबाट बाहिरिने तयारी गरेको स्वयम रेशम चौधरीले भिडिओ सन्देशबाट प्रष्ट पारिसकेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पनि वर्तमान सरकार लामो नजाने दाबी गरिराखेका छन् । यद्धपी उनले आफू अहिले सरकार ढाल्ने खेलमा नलाग्ने स्पष्ट पारेका छन् । उनले सरकारलाई कसैले ढाल्न नपर्ने बरु आँफै कुहिएर झर्ने दाबी गर्दै आएका छन् । सरकारविरुद्ध स्वयम मुख्य सत्ता साझेदार दल नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले दबाब बढाउँदै लगाएको छ ।

शेखरले त सार्वजनिक रूपमै वर्तमान सरकार ७ बुँदे सहमति कार्यान्वयन गर्नतर्फ पनि अग्रसर नभएको भन्दै आलोचना गरेका छन् । उनले पनि आफूनिकट नेताहरुलाई दशैंलगत्तै सरकारबारे सोच्नुपर्ने बेला भएको भनेर टिप्पणी गर्ने गरेका छन् । उनले संसदीय व्यवस्थामा संसद्का दुई ठूला दल मिलेर सरकार चलाउँदा मुलुक अधिनायकवादतर्फ जाने र देशमा स्वेच्छाचारिता मौलाउने खतरा औंल्याएका छन् । file photo



प्रतिक्रिया दिनुहोस्