Logo

दसैँ घमाइलो हुने, चार दिनभित्र यस वर्षको मनसुन बाहिरिने



काठमाडौं, असोज २२ । यस वर्षको मनसुन अब केही दिनभित्रै पूर्ण रूपमा बाहिरिने भएको छ । मनसुनको गतिविधि न्यून भएसँगै यो वर्षको दसैँ घमाइलो हुने भएको छ । नेपालको सुदूरपश्चिम प्रदेश हुँदै बाहिरिन सुरु गरेको मनसुन करिब चार दिनभित्र पूर्ण रूपमा बाहिरिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हालसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशबाट पूर्ण रूपमा र लुम्बिनी प्रदेशबाट आंशिक रूपमा मनसुन बाहिरिसकेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्। पश्चिमबाट पूर्वतर्फ पश्चिमी वायु सर्दै नेपालको पूर्वी भेगबाट मनसुन सम्पूर्ण रूपमा बाहिरिने जनाइएको छ । दसैँ आसपास पहाडी भेगमा हल्का बदली देखिए पनि ठुलो वर्षा नहुने उनको भनाई छ ।

उनका अनुसार मनसुनी वायु कमजोर हुँदैजाँदा पश्चिमी वायुको प्रभाव भने बलियो बन्दै गएको छ । जसका कारण मनसुन बाहिरिएपछि पनि पश्चिमी वायु र स्थानीय वायुको प्रभावले हल्का वर्षा हुने सम्भावना असोज महिनाभर कायम रहने मानन्धरले बताए। भारी वर्षाको क्रम भने मनसुन बाहिरिने प्रक्रिया सुरु भएसँगै यो वर्षका लागि टुङ्गिएको छ ।



प्रतिक्रिया दिनुहोस्