Logo

रुस र चीनद्वारा प्रशान्त महासागरमा संयुक्त नौसैनिक गस्ती



मस्को, २२ असोज । रुसी र चिनियाँ नौसेनाका जहाजहरूले प्रशान्त महासागरको उत्तरपूर्वी भागमा संयुक्त गस्ती गरेको रुसी सेनाले मङ्गलबार बताएको छ ।

जहाजहरूले पनडुब्बी विरोधी रणनीतिको अभ्यास गर्न ‘युद्धाभ्यास गरेर अघि बढेको’ बताइएको छ ।

दुई मुलुकले संयुक्त सैन्य अभ्यास गरेपछि यो गस्ती गरिएको हो । दुवै मित्र राष्ट्रबीच घनिष्ठ सम्बन्ध कायम हुँदा नाटोले बेइजिङलाई मस्कोको युक्रेन युद्धको ‘समर्थक’ भनेको छ ।

सेप्टेम्बरको प्रारम्भमा दुवै पक्षले संयुक्त समुद्री गस्तीमा भाग लिने र चीनले रुसको ‘ओसन–२०२४’ रणनीतिक अभ्यासमा भाग लिने चीनले बताएको थियो ।

जुलाईमा दुवै मुलुकले दक्षिणी चीनको ग्वाङ्डोङ प्रान्तको झानजियाङ सहर वरपरको जल र हवाई क्षेत्रमा संयुक्त अभ्यास गरेका थिए ।

रुस र चीनले हालैका वर्षहरूमा सैन्य र आर्थिक सहयोग बढाएका छन् । दुवैले ‘पश्चिमी प्रभुत्व’ विरुद्ध खासगरी विश्व मामिलामा अमेरिकी प्रभुत्व भनेर बुझ्ने कुराको विरोध गरिरहेका छन् ।

दुवै मुलुकले मस्कोले सन् २०२२ मा युक्रेनमा आक्रमण सुरु गर्नु केही समयअघि ‘सीमाहीन’ साझेदारीको घोषणा गरेका थिए । रासस



प्रतिक्रिया दिनुहोस्