Logo

संयुक्त राष्ट्रसङ्घको शरणार्थी पुरस्कार ब्राजिलीयाली भिक्षु माइलेसीलाई, नेपालकी गुरुङ पनि सम्मानित



जेनेभा, २३ असोज । आप्रवासी र शरणार्थीको अधिकारका लागि दशकौँ लामो समयदेखि काम गर्दै आएकी ब्राजिलीयाली भिक्षुणी रोसिटा माइलेसीले बुधबार संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकाय (युएनएचसिआर) को नानसेन पुरस्कार जितेको छ ।

७९ वर्षीय माइलेसीले ४० वर्षको अवधिमा ब्राजिलमा कानुनी कागजात, आवास, खाना, स्वास्थ्य सेवा, भाषा प्रशिक्षण र श्रम बजारमा पहुँच पु¥याउन हजारौँ मानिसलाई सहयोग गरेको युएनएचसीआरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । माइलेसीसहित चार क्षेत्रीय पुरस्कार पनि सबै महिलाहरूलाई दिइएको छ ।

माइलेसीसँगै क्षेत्रीय पुरस्कारबाट नेपालकी दीप्ति गुरुङ, बुर्किना फासोकी मैमौना बा, , सिरियाली जिन डाभोद, सुडानी शरणार्थी नाडा फाडोल सम्मानित भएका छन् ।

सम्मानित हुने चार व्यक्तित्वमध्येकी एक नेपाली चेली गुरुङ रहेको छ । उनले आफ्ना छोरीहरू राज्यविहीन भएपछि नेपालको नागरिकता कानुनमा सुधार का लागि अभियान चलाएको थियो ।

“मैले आप्रवासी र शरणार्थीहरूको लागि आफूलाई समर्पित गर्ने निर्णय गरेँ । म शरणार्थीहरूलाई सहयोग गर्न, स्वागत गर्न र एकीकृत गर्न बढ्दो आवश्यकताबाट प्रेरित छु,” माइलेसीले पुरस्कृत भएपछि दिएको संक्षिप्त टिप्पणीमा भनेको छ ।

रोमन क्याथोलिक भिक्षुणीले माइग्रेसन एण्ड ह्युमन राइट्स इन्स्टिच्युटलाई शरणार्थीको हक हितका लागि नडराईकन काम गर्न निर्देशन दिँदै भन्छन्, “म काम गर्न डराउँदिन, यद्यपि हामीले चाहेको सबै कुरा प्राप्त गर्न सक्दैनौँ। यदि मैले त्यसो गर्न सक्थेँ भने यसलाई प्राप्त गर्न म संसारलाई उल्टो पारिदिने थिए ।”

यूएनएचसीआरले उनको कामको बारेमा प्रकाश पार्दै माइलेसीले शरणार्थीको हक र हितका लागि एक सशक्त वकीलको रूपमा काम गरेको छ । उनको कामले विशेष गरी ब्राजिलको १९९७ को शरणार्थी कानून निर्माणमा अन्तर्राष्ट्रिय मापदण्डअनुरूपको सार्वजनिक नीतिलाई आकार दिन ‘महत्वपूर्ण’ भूमिका खेलेको बताएको छ ।

उनले ब्राजिलको सन् २०१७ को आप्रवासन कानुनमा पनि यस्तै भूमिका खेलेको थियो । यो कानुनले ब्राजिलका विभिन्न समूहलाई एक ठाउँमा ल्याउने र सांसदहरूलाई परिचालन गर्ने काम भएको थियो।

संयुक्त राष्ट्रसंघका शरणार्थी प्रमुख फिलिप्पो ग्रान्डीले जारी गरेको वक्तव्यमा भनिएको छ, “प्रायजसो महिलाहरूले भेदभाव र हिंसाको उच्च जोखिमको सामना गर्छन्, विशेष गरी जब उनीहरू भाग्न बाध्य हुन्छन्।”

उनले भने, “तर यी पाँच विजेताहरूले कसरी महिलाहरूले मानवीय प्रतिक्रिया र समाधान खोज्नमा महत्त्वपूर्ण भूमिका खेलिरहेका छन् भन्ने देखाउँछन् ।”

बुर्किना फासोकी अधिकारकर्मी मैमौना बाले १०० भन्दा बढी विस्थापित बालबालिकालाई कक्षाकोठामा फर्कन मद्दत गरेको थियो ।

सिरियाली शरणार्थी र सामाजिक उद्यमी जिन डाभोद पनि क्षेत्रीयस्तरको राष्ट्रसङ्घीय शरणार्थी पुरस्कारबाट सम्मानित भएको छ । उनले हजारौं आघात पीडितहरूलाई लाइसेन्स प्राप्त चिकित्सकहरूसँग जोड्न अनलाइन प्लेटफर्म निर्माण गरेको थियो ।

सयौं शरणार्थी परिवारहरूको लागि सहायता जुटाउने कामका लागि सुडानी शरणार्थी नाडा फाडोल पनि राष्ट्रसङ्घीय शरणार्थी पुरस्कारबाट सम्मानित भएको छ । जसले इजिप्टमा भागिरहेका सयौं शरणार्थी परिवारहरूको लागि सहायता जुटाए।

मोल्दोभाका नागरिकले छिमेकी युक्रेनको युद्धबाट भागेर आएका १० लाखभन्दा बढी मानिसहरूलाई समायोजित गर्ने सामूहिक प्रयासका लागि पुरस्कृत गरिएको छ ।

माथि उल्लेखित सबै पुरस्कार आगामी अक्टोबर १४ मा जेनेभामा प्रदान गरिनेछ ।

सन् १९५४ मा स्थापना भएको नानसेन पुरस्कार अन्तर्गत विजेताको कामलाई परिपूरक बनाउने परियोजनाका लागि एक लाख अमेरिकी डलर प्राप्त गर्नेछन् । क्षेत्रीय विजेताले जनही २५ हजार अमेरिकी डलर प्राप्त गर्नेछन् ।

सन् १९२२ को नोबेल शान्ति पुरस्कार विजेता नर्वेजियन ध्रुवीय अन्वेषक फ्रिडजोफ नानसेनको नामबाट यो पुरस्कारको नामकरण गरिएको हो।

उहाँले नानसेन राहदानी विकास गरेको थियो । यसलेसन् १९४२ सम्म शरणार्थीहरूको लागि एक परिचय पत्र र यात्रा अनुमतिको रूपमा काम गर्दथ्यो।

नानसेन पुरस्कारको गत वर्षको विश्व विजेता सोमालियाका पूर्व शरणार्थी अब्दुल्लाही मिरे छन् भने सन् २०२२ मा जर्मनीकी पूर्व चान्सलर एन्जेला मर्केल विश्व विजेता बनेको थियो । रासस



प्रतिक्रिया दिनुहोस्