Logo

चाडपर्वमा पनि बलेनन् सडकबत्ती



सिरहा, असोज २४ । रातको समय छ। बजार क्षेत्र भए पनि सडकमा पाट्टफट्ट चल्ने मोटरसाइकलको आवाजबाहेक सबैतिर चकमन्न र सुनसान छ। लहान नगरपालिका–४ स्थित बजार क्षेत्रको मुख्य चोकका रूपमा रहेको छ, हुलाक चोक। यही चोकबाट उत्तर–पूर्वतर्फको सडकमा सडकबत्ती नहुँदा रात जति छिप्पिदैँ जान्छ, सडक उत्तिनै निष्पट्ट अधेँरो हुँदै जान्छ।

स्थानीय सत्य नारायण चौधरी भन्छन्,“सडकमा बत्ती बल्नु भनेको उज्यालो हुनु मात्रै होइन, स्थानीय बासीन्दाले सुरक्षाको अनुभूति गर्नु तथा सम्भावित चोरी डकैतीका घट्ना न्यूनीकरण हुनु पनि हो। अँध्यारोको मौका छोपी चाडबाडको समयमा चोरी डकैती हुने सम्भावना बढी हुन्छ। त्यस्तै मादक पदार्थ तथा लागुऔषध सेवन गर्नेले यही यस्तै बेला त हो नि अनैतिक क्रियाकलप गर्ने!”

उनी सहर बजार मानिएको लहानको यस मुख्य चोकमै सडकबत्ती नहुनुले राम्रो सन्देश नदिएको धारणा राख्छन्। “यो क्षेत्र अत्यधिक चोरी हुने ठाउँ हो। चोरले दिउँसै घर फोरौँला जस्तो गर्छन्। रातको समयमा सडकबत्ती नहुँदा उनीहरूले त्यसको फाइदा लिने सम्भावना हुन्छ। विगत लामो समयदेखि सडक बत्तीको लागि वडा कार्यालयदेखि नगरपालिकासम्म धाउँदा पनि समस्या समाधान हुँन सकेको छैन। चाडबाडको समयमा पनि बजार छेवैको सडक अन्धकार हुनु बत्तीमुनिको अँध्यारो भनेजस्तै जस्तै भयो”, चौधरीले भने।

यस क्षेत्रमा रहेको वडा नं ८ मा पर्ने २ नं सडकमा भने गत वर्षदेखि स्मार्ट सडकबत्ती जडान गरिएको हुँदा झिलीमिली रहेको छ। लामो समयदेखि हुलाक चोकदेखि उत्तर–पूर्वतर्फ जाने सडकमा सडकबत्ती नहुँदा सडक अन्धकार भएको सम्बन्धमा वडाध्यक्ष रामनाथ पण्डितसमक्ष जिज्ञासा राख्दा उनले भने, “नगरपालिकाले ठेक्कामार्फत सडकबत्ती लगाउने हो। नगरसँग समन्वय गरेर आवश्यक सडकबत्तीको व्यवस्था गर्न पहल गर्नेछु।”

नगरप्रमुख महेशप्रसाद चौधरीले नगरभित्रका सम्पूर्ण सडकमा बत्ती जडानकाल लागि बर्सेनि ठेक्का लाग्ने गरेको र यस वर्षको लागि पनि ठेक्का लागिसकेकाले चाँडै समस्या समाधान हुने बताए। “हामी सडकबत्तीको व्यवस्थापनमा लागि नै रहेका छौँ। जडान नभएका ठाउँमा चालु आर्थिक वर्षभित्र काम हुन्छ। त्यसबाहेक चाडबाडको समयमा सडकबत्ती माग भएमा नगरले आवश्यक बल्ब उपलब्ध गराउने छ”, उनले भने। रासस



प्रतिक्रिया दिनुहोस्