Logo

टुँडिखेलमा आज फूलपाती बढाइँ



काठमाडौं, असोज २४ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा आज सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह हुँदैछ ।

बडादसैँको सातौं दिन आयोजना हुने फूलपाती बढाइँ कार्यक्रममा सैनिक परेड मुख्य आकर्षण रहनेछ । राष्ट्रपति पौडेल नेपाली सेनाको परमाधिपति हुन्। बढाइँ कार्यक्रममा सैनिक हेलिकोप्टरद्वारा पुष्पवृष्टिका साथै राष्ट्रिय गीतसहित विभिन्न धुन प्रस्तुत हुनेछ । सेनाले फूलपाती बढाइँअन्तर्गत राइफलबाट लहरे र एकठ्ठा तथा तोपबाट पनि बढाइँ प्रस्तुत गरिने छ ।

समारोहमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, उपप्रधानमन्त्री एवं रक्षामन्त्रीलगायत विशिष्ट व्यक्ति सहभागी हुनेछन् । बडादसैंका सन्दर्भमा गरिने फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने विशिष्ट मौलिक कार्यक्रम मानिन्छ ।

नेपाली सेनाले सैनिक मञ्चमा हर्षोल्लासपूर्वक फूलपाती बढाइँ गर्ने पुरानै चलन हो । गोर्खाबाट ल्याइएको जमरा र फूलपाती हनुमानढोकाको दसैंघरमा भित्र्याउने साइत मिलाएर टुँडिखेलमा फूलपाती बढाइँ गरिन्छ । टुँडिखेलको बढाइँ सकिएपछि आवश्यक मात्रामा जनशक्ति राखेर अरुलाई दसैँ बिदामा जान अनुमति दिने अभ्यास सेनामा छ ।

नवरात्रको सातौँ दिन बिहीबार दशैँ घरमा हर्षोल्लासका साथ फुलपाती भित्र्याउने र बढाइँ गरिँदैछ । सोही उपलक्ष्यमा गोरखा दरबारबाट फूलपाती ल्याएर काठमाडौँको हनुमानढोका दसैँ घरमा भित्र्याउने र सैनिक मञ्च टुँडिखेलमा राष्ट्रप्रमुख र सरकार प्रमुखको उपस्थितिमा नेपाली सेनाले फूलपाती बढाइँ गर्ने पुरानो परम्परा छ ।

सैनिक मञ्च टुँडिखेलमा हुने फूलपाती बढाइँ कार्यक्रममा मल्लकालीन अवस्थादेखि नै नेपाली सेनाको सहभागिता रहँदै आइरहेको छ । फूलपातीको दिनमा नेपाली सेनाका विभिन्न युनिटबाट फौजहरू खटी बाजागाजासहित नाचगानका साथसाथै सांस्कृतिक कार्यक्रम गरी बढाइँ दिई लावालस्करसहित उक्त पर्व धूमधामका साथ मनाउने गरेको पाइन्छ ।

राज्यकालीन अवस्थादेखि मगर पुजारी, बाजागाजासहित शार्दूल जङ्ग गुल्म (गुर्जु पल्टन) तथा नेपाली सेनाका अन्य युनिट सबयुनिट प्रत्यक्ष रूपमा सहभागी भई ऐतिहासिक फूलपाती भित्र्याउने कार्यले राष्ट्रिय पर्व संवद्र्धन र प्रवद्र्धनमा ठूलो भूमिका देखिँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्