Logo

प्रधानमन्त्री ओली र सभापति देउवाबीचको सम्बन्ध प्रगाढ बनाउँदै उर्जामन्त्री खड्का



काठमाडौं, २४ असोज । कांग्रेस र एमाले मिलेर नयाँ सरकार बनाएपछि मुलुकमा आशाको सञ्चार भएको भनेर दुवै दलका नेताहरुले दाबी गर्दै आएका छन् । कतिपयले यो सहकार्य लामो नजाने भविष्यवाणी गरेका छन् । तर, गठबन्धन बनेको दिनदेखि नै दुवै दलका नेतृत्वबीचमा सेतुको काम गरेका कांग्रेस नेता दीपक खड्का यो गठबन्धन आगामी निर्वाचनसम्मै जानेमा ढुक्क छन् ।

उनी अहिले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको क्याविनेटका महत्वपूर्ण सदस्य हुन् । उनी प्रधानमन्त्री ओली र पार्टी सभापति शेरबहादुर देउवाकै चाहनामा उर्जाजस्तो महत्वपूर्ण मन्त्रालयको नेतृत्वमा छन् । कांग्रेसको भावी नेतृत्वको रुपमा हेरिएका नेता डा. शशांक कोइरालाले समेत खड्कालाई विश्वास गरेका छन् ।

अहिले खड्का उर्जा क्षेत्रको विकासमा कम्मर कसेर लागेका छन् । हालै उनकै अग्रसरतामा बंगलादेशसँग विद्यतु खरिद बिक्री सम्झौता भएको छ । हालैको बाढी/पहिरोले निम्त्याएको कहरले उर्जा क्षेत्रमा ठूलो क्षति भएको छ । तत्काल उर्जा क्षेत्रमा देखिएका समस्या समाधानको लागि मन्त्री खड्काले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

मन्त्री खड्का अहिलेको गठबन्धनमा कुनै समस्या नआउनेमा ढुक्क छन् । र, दुवै दलका नेताहरुबीच सौहार्दपूर्ण सहकार्यको लागि निरन्तर भेटवार्ता र सम्वादसमेत जारी राख्नुपर्ने खड्काको मत छ ।

हालै उनले आफ्नो लगानीमा निर्माण भएको होलिडे इन रिसोर्टको उद्घाटनमा प्रधानमन्त्री ओली र सभापति देउवलाई एकसाथ उतारेका छन् । सो अवसरमा प्रधानमन्त्री ओली र सभापति देउवाबीच हार्दिक सम्बन्ध देखिएको छ । उक्त होटल तथा रिसोर्ट उदघा्टनको क्रममा प्रधानमन्त्री ओलीले मन्त्री खड्काको उद्यमशिलताको प्रशंसा गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्