Logo

मीनबहादुर गुरूङबाट पार्टी कार्यालय बनाउने निर्णयको एमालेभित्रैबाट आलोचना, गलत निर्णय सच्याउन पाण्डेको माग



काठमाडौं, २८ असोज । नेकपा (एमाले) की प्रभावशाली नेतृ विन्दा पाण्डेले व्यवसायी मीनबहादुर गुरुङबाट पार्टी कार्यालय बनाउन जग्गा र सहयोग लिने कुराको विरोध गरेकी छिन् ।

उनले समय घर्किनसकेको भन्दै अझैपनि उक्त निर्णय फिर्ता लिन पार्टी नेतृत्वलाई दबाब दिएकी छिन् । उनले उक्त निर्णयले साढे पाँच लाख पार्टी सदस्यको स्वाभिमानी शीर झुकाउने र २८ लाख मतदाताको अपमान गर्नै कदम भएको भन्दै आलोचना गरेकी छिन् ।

उनले फेशबुकमा लेखेकी छिन्–

साढे पाँच लाख पार्टी सदस्यको स्वाभिमानी शिर झुकाउने र २८ लाख मतदाताको अपमान गर्ने कदम हो यो । व्यापार व्यवसाय गर्नेले पारदर्शी रुपमा कम्पनीको सामाजिक दायित्व अन्तर्गत सामाजिक काममा सहयोग गर्नु कर्तव्य नै हो ।

तर, राजनीतिक दलले कार्यालय बनाउन यस्तो सहयोग लिनु र व्यापारीले दिनु दुवै ग़लत हो । दिनेले किन र कसरी दिए उनैलाई थाहा होला । तर, स्विकार गर्नेले पार्टीको निर्णायक तहमा छलफल र निर्णय त परको कुरा जानकारी समेत नहुने गरी गरिएको यो निर्णय दिर्घकालमा आत्मघाती सावित हुनेछ ।

समय घर्की सकेको छैन । मनमोहन र मदनहरुले उचो बनाएको पार्टीको इतिहास, वर्तमानमा वाचेका स्वाभिमानी पार्टी पंक्ति र भावी सन्ततीका लागि एमालेको गौरव जोगाउने हो भने यो ग़लत निर्णय सच्याउनै पर्छ । समयमै सोचौ ।



प्रतिक्रिया दिनुहोस्