Logo

विप्लव निवासमा नेताहरुको ओईरो, घनश्यामपछि जनार्दनपनि पुगे



काठमाडौं, ३० असोज । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ नेपाली राजनीतिको चर्चायोग्य पात्र बनेका छन् । उनी राष्ट्रिय राजनीतिमा सधैं खोजिने नेताको रुपमा चिनिन थालेका छन् । माओवादीबाट विद्रोह गरेर माहेन बैद्यलाई साथ दिएका विप्लवले बीचमा बैद्यलाई पनि साथ छोडेर जनक्रान्ति गर्ने भन्दै भूमिगत जीवन बिताए ।

तर, विद्रोहको राजनीतिकै क्रममा उनी नेकपाको शक्तिशाली सरकार भएको बेलामा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग तीन बुँदे सहमति गरेर मूलधारको राजनीतिमा फर्किएका हुन् । त्यसपछि उनी गृहजिल्ला कपिलवस्तुमा नै बस्ने गरेका छन् । उनी अहिले माओवादीसहितका दल भएको समाजवादी मोर्चाको संयोजक छन् ।

उनी काठमाडौं आउजाउ गरिरहन्छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग एकताको लागि घनिभूत छलफलमा छन् । उनले कपिलवस्तुमा नमूना कृषि फर्म पनि सञ्चालन गरेका छन् । भर्खरै सो फर्मको अवलोकनमा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल पुगेका थिए । त्यसको एक साता बित्न नपाउँदै माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मापनि पुगेका छन् ।

माओवादीभित्र जनार्दन अध्यक्ष प्रचण्डलाई चूनौति दिने नेताको रुपमा चिनिन थालेका छन् । उनी नेतृत्वको प्रमुख दाबेदार बनेका छन् । कतिपयले प्रचण्डले विप्लवलाई पार्टीभित्र भित्र्याएर आफ्नो उत्तराधिकारी बनाउन लागेको चर्चापनि गर्ने गरेका छन् । यस्तो अवस्थामा जनार्दन विप्लवलाई माओवादीमा ल्याउन नहुने पक्षमा रहेको भनेर प्रचारपनि गरिएको छ ।

तर, स्वयम जनार्दन भने आफू पार्टीलाई बलियो बनाउने पक्षमा रहेको भन्दै विप्लवमात्रै नभएर माओवादीबाट अलग भएर गएकाहरुलाई एकतामा ल्याउन गृहकार्य गरिरहेको भनेका छन् । उनै जनार्दनले हिजो (मंगलबार) विप्लवसँग कपिलवस्तुमा पुगेर भेटघाट गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्