Logo

रवि पक्राउ प्रकरणको संयोग : दुवै पटक ओली प्रधानमन्त्री



काठमाडौं, २ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेका छन् । सहकारी ठगी प्रकरणमा लामिछानेलाई काँस्की प्रहरीले आज पक्राउ गरेको हो । लामिछाने काठमाडौंस्थित् पार्टी मुख्यालय घण्टीघरबाट पक्राउ परेका हुन् । उनलाई आजै काँस्की लगिने प्रहरीले जनाएको छ ।

रवि लामिछोन यसअघि २०७६ साउन ३० गते पक्राउ परेका थिए । संयोग नै मान्नुपर्छ, पहिलोपटक पक्राउ पर्दा र अहिले दोस्रोपटक पक्राउ पर्दापनि सरकारको नेतृत्व भने केपी शर्मा ओलीले गरेका छन् । कतिपयले यसलाई संयोग मानेका छन् ।

कतिपयले भने रवि लामिछानेप्रति ओली सधैं अनुदार नै रहेकोले यो कदम चालेको भनेरपनि टिप्पणी गरेका छन् । रविमात्रै नभएर काठमाडौंका मेयर बालेन शाहलाई पनि ओलीले खासै भाउ दिएका छैनन् । बेला बेलामा ओली र शाह सामाजिक सञ्जालमै भिडिराखेका छन् ।

पहिलोपटक पक्राउ पर्दा रविमाथि आफ्नै सहकर्मी पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहको मुद्दा थियो । त्यतिवेला लामिछाने न्यूज २४ को कार्यालयबाटै पक्राउ परेका थिए । उनीमात्रै नभएर उनका सहकर्मी युवराज कँडेलपनि सँगै पक्राउ परेका थिए । अस्मिता कार्की भने कलंकीबाट पक्राउ परेकी थिईन् ।

उनीहरुलाई पक्राउ गरेर प्रहरीले स्थलमार्ग हुँदै चितवन लगेर अनुसन्धान गरेको थियो । उक्त पक्राउ प्रकरणमा लामिछानेको समर्थनमा चितवनमा दिनहुँ हजारौंको संख्यामा जुलुश हुने गरेको थियो । त्यही प्रकरणमा उनले चितवनलाई आफ्नो भावी राजनीतिको इपिसेन्टर बनाएका थिए । पछि उनी टेलिभिजन कर्मबाट विदा भएर सिधा राजनीतिमा हाम फाले । र, चितवन–२ बाट भारी मतान्तरले निर्वाचित भए ।

यो बीचमा उनी दुई पटक प्रचण्डको नेतृत्वमा उपप्रधान एवम् गृहमन्त्री भएर काम गर्न सफल भए । दुवै पटक उनलाई गृहमन्त्रालयको नेतृत्वमा पर्याउन भने एमाले अध्यक्ष केपी ओलीले नै भूमिका खेले । अहिले ओलीले कांग्रेसको समर्थनमा सरकारको नेतृत्व गरिरहेका छन् । एमालेकै सांसद सूर्य थापाको संयोजकमा रहेको संसदीय छानबिन समितिले लामिछानेलाई दोषी देखाएर कारबाही सिफारिश गरेको हो । प्रहरीले त्यही समितिको प्रतिवेदन कार्यान्वयनको प्रक्रिया अघि बढाउन लामिछानेलाई पक्राउ गरेको हो । file photo



प्रतिक्रिया दिनुहोस्