Logo

पक्राउ देउवाले गराए, रविले गाली ओलीलाई गरे



काठमाडौं, ३ कार्तिक । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि लामिछाने यतिवेला कास्की प्रहरीको हिरासतमा छन् । पोखरा यतिवेला आन्दोलन र प्रदर्शनको इपिसेन्टर बनेको छ। रविका समर्थकहरुले पक्राउको विरोधमा प्रदर्शन गर्ने तयारी गरेका छन् भने सहकारी पीडितहरुले न्याय माग्दै आन्दोलन जारी राख्ने भएका छन् । दुवै पक्ष आमनेसामने हुने भएपछि प्रहरी प्रशासनले भने आजैबाट पोखरामा निषेधाज्ञा लगाउने तयारी गरेको छ । रविलाई काठमाडौंमा पक्राउ गरिएर पोखरा लगिएको हो । पक्राउ पर्दा रवि पार्टी मुख्यालय वनस्थलीमा थिए ।

पक्राउ पुर्जी जारी भएलगत्तै रविले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राखेका थिए । जसमा उनी प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्रामक सुनिए । तर, रविलाई पक्राउ गर्न दबाब दिने सत्ता गठबन्धनको मुख्य घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाप्रति नरम नै देखिए । प्रधानमन्त्री ओलीलाई रविलाई पक्राउ गर्नको लागि देउवाले हिजै शुक्रबारसम्मको अल्टिमेटम दिएका थिए । पक्राउ नगरिए सरकार नै ढालिदिने देउवाको चेतावनी थियो । त्यसपछि मात्रै प्रधानमन्त्री ओलीले बाध्यात्मक रुपमा लामिछानेलाई पक्राउको लागि कदम चालेको चर्चा छ ।

केपी ओली प्रधानमन्त्री बन्नुअघि एमालेसहितको प्रचण्ड नेतृत्वको सरकारमा रवि उपप्रधान एवम् गृहमन्त्री थिए । रविलाई गृहमन्त्री बनाउन उनै ओलीले जोड गरेका थिए । पहिलोपटक पनि ओलीकै कारण रविले गृह मन्त्रालयको नेतृत्व सम्हालेका थिए । प्रचण्डले सुरुमै गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बनाउन चाहेका थिए । तर, ओलीले नै अडान लिएपछि रविले गृह मन्त्रालयको नेतृत्व लिएका थिए । ०७९ पुष १० गते प्रचण्डको नेतृत्वमा सरकार बन्दा र रविले त्यो सरकारमा सयर गर्दा ओलीसँग उनको राम्रै दोस्ती थियो । कहिले बालकोटको छतमा त कहिले ओलीको गोप्य कोठामा भलाकुसारी हुन्थ्यो । ती भेटवाताका तस्विर बालकोटका पेजमा अहिलेपनि भेटिन्छन् ।

कतिपयले त्यतिवेला नै चर्चा गर्दथे–रविलाई केपी ओलीको माया महँगो पर्छ । नभन्दै अहिले ओलीले कांग्रेससँगको सहकार्यमा सरकारको नेतृत्व गर्दा नै कांग्रेसकै दबाब झेल्न नसकेर रविलाई पक्राउ गरेको चर्चा छ । सहकारी छानबिन समितिसम्म बनाउन हुन्न भन्ने पक्षमा थिए ओली । कांग्रेसले लगातार संसद् अवरोध गर्दापनि ओलीले पेलेरै जाने नीति अख्तियार गरेका थिए । बरु, सरकारको नेतृत्व गरेका प्रचण्डले छानबिन समिति बनाउनुपर्छ भन्ने कांग्रेसको मागप्रति सकारात्मक जवाफ दिने गरेका थिए ।

स्वयम रविले पनि छानबिन समिति बनाईयो भनेका थिए । त्यही छानबिन समितिले नै रविलाई कारबाहीको सिफारिश गरेपछि प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेलगत्तै रविले प्रधानमन्त्री ओलीको नाम नै लिएर कडा आक्रोश पोखे । उनले प्रधानमन्त्री ओलीलाई विचौलियाको सेवकसमेत भनेका छन् ।

ओलीलाई उनले तस्करले दिएको करोड पर्ने घडी लगाएको र आफ्नो हातमा चाहीँ हत्कडी लगाईएको भन्दै आक्रोशसमेत पोखेका थिए । रविले आफ्नो अध्यक्षविरुद्ध कडा टिप्पणी गरेपछि एमाले पँक्तिपनि रविको विरुद्धमा खनिएको छ । अहिले रविका समर्थक र एमालेका समर्थक आमनेसामने भएका छन् ।

तर, सहकारी ठगी प्रकरणमा रविविरुद्ध जेहाद छेड्ने काम कांग्रेसका महामन्त्री गगन थापाले गरेका हुन् । र, कांग्रेस सभापति देउवा दम्पत्ति रविलाई पक्राउ गर्न आँतुर थिए । अहिले कांग्रेसले त्यसमा सफलता हात पारेको छ । तर, रवि भने रिस, आक्रोश र आवेग ओलीविरुद्ध पोखिरहेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्