काठमाडौं, ३ कार्तिक । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले संसद्ले दिएको निर्देशनबमोजिम सरकारले सहकारी ठगी प्रकरणमा पीडितलाई न्याय दिनेगरि कदम चालेको बताएका छन् । उनले सरकारले संसदीय छानबिन समितिको रिपोर्टअनुसार अनुसन्धानको प्रक्रिया अघि बढाउँदा रवि लामिछानेलाई पक्राउ गरेको स्पष्ट पारे ।
आज (शनिबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले रवि लामिछाने पक्राउ परेपछि रास्वपाले पूर्ण रुपमा राजनीतिकरण गरेको आरोप लगाए । उनले भने,‘रास्वपाले टोटल्ली राजनीतिकरण गर्यो । उहाँहरुले यति धेरै अपरिपक्व राजनीतिक व्यवहार गर्नुहुन्छ भन्ने हामीलाई लागेको थिएन । यो रवि लामिछानेसँग, त्योपनि कयौं सहकारीसँग जोडिएको अपचलनमा उहाँको संलग्नता देखिएको भएको हुनसक्ने यो अनुसन्धानको लागि नेपाल प्रहरीले उहाँलाई नियन्त्रणमा लिएको हो । उहाँमाथि मुद्दा दाय भैसकेको अवस्था पनि होइन । उहाँलाई थुनामा पठाउनेगरिको चाहीँ, भोलि होला अध्ययन तथा अनुसन्धान हुनसक्छ । आधार र प्रमाण पुगेको अवस्थामा उहाँमाथि मुद्दा लाग्नपनि सक्छ ।’
रवि लामिछानेले पक्राउ पुर्जी जारी हुनेबित्तिकै सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध लगाएको आरोपलाई बर्तौलाले गलत र तथ्यहीनको संज्ञा दिए । उनले रवि लामिछाने र सिंगो रास्वपाका नेताहरुले गलत गरिरहेको दाबी गरे । उनले रवि लामिछानेमाथि अहिलेमात्रै नभएर यसअघि पनि पटक पटक आरोप लाग्ने गरेको र काण्डहरु आउने गरेको स्मरण गराए ।