Logo

चार हजार मिटर उचाइमा पहिलाेपटक पाँचपाेखरी महिला ट्रेल रेस



खाेटाङकी निर्मला राई प्रथम, पाइन् ५० हजार पुरस्कार

सिन्धुपाल्चोक, ३ कात्तिक : नेपालमा पहिलाेपटक चार हजार मिटर बढी उचाइमा महिला ट्रेल रेस सम्पन्न भएकाे छ । विश्व समावेशी साहसी संस्था र सिन्धुपाल्चोकका १२ वटै पालिकाकाे सहकार्यमा `पाँच पाेखरी विमन ट्रेल रेस २०८१´ सम्पन्न भएकाे हाे । पाँचपाेखरी थाङपाल गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारीकाे नेतृत्वमा सम्पन्न ट्रेल रेसमा ५१ जनाले भाग लिएका थिए ।

ट्रेल रेसका लागि उमेरले ५० कटेकी उपाध्यक्ष अधिकारीसहित महिला तथा किशाेरीहरू २८ असाेजमा पाँचपाेखरी गएका थिए । २८ किलाेमिटरकाे दुरी र ४१ सय मिटर उचाइमा रहेकाे पाँचपाेखरीबाट शुक्रबार विहान सात बजे रेस सुरू भएकाे थियाे । २ घण्टा २८ मिनेटमा रेस पूरा गरेर खाेटाङकी निर्मला राई प्रथम भइन् । राईले ५० हजार पुरस्कार प्राप्त गरिन् । कप, मेडल र प्रमाणपत्र पनि पाइन् । विजेता राई रेस पूरा गरेर पाँचपाेखरी थाङपाल गाउँपालिका ४ स्थित मानेखर्क, रैथाने पाेखरीमा ९ बजेर २८ मिनेट २९ सेकेन्डमा आइपुगेकी थिइन् । `रेस रमाइलाे भयाे । स्वास्थ्यका लागि, सशक्तीकरणका लागि यसले सहजता प्रदान गर्छ,´ उनले भनिन् ।

यसैगरी २ घण्टा ४९ मिनेटमा रेस पूरा गरेकी ओखलढुंगा घर भई नेपाल पुलिस क्लबमा कार्यरत लक्पा निग्मा शेर्पा दाेस्राे भइन् । `रेस एकदफ टफ थियाे । मलाई पाँचपाेखरी रमाइलाे लाग्याे, राम्राे ठाउँ रहेछ,´ उनले भनिन् । शेर्पाले २५ हजार पुरस्कार पाइन् भने कप, मेडल र प्रमाणपत्र पनि प्राप्त गरिन् ।

हेलम्बुकी नितु तामाङले २ घण्टा ५८ मिनेटमा रेस पूरा गरेर तेस्राे स्थान हासिल गरिन् । १५ हजार पुरस्कार पाएकी तामाङले कप, मेडल र प्रमाणपत्र प्राप्त गरिन् । तीन घण्टा ११ मिनेटमा रेस पूरा गरेकी सिन्धुपाल्चोककै अस्मिता भुजेल चौथाे भइन् । उनले १० हजार पुरस्कार, मेडल र प्रमाणपत्र पाइन् ।

तीन घण्टा १८ मिनेटमा रेस पूरा गरेकी राेल्पाकी आस्मा विक पाँचाै भइन् । उनले पाँच हजार पुरस्कार, मेडल र प्रमाणपत्र पाइन् । ५४ वर्षीया सुकुमाया विकले मायाकाे चिनाे स्वरूप नगद पुरस्कार प्राप्त गरिन् ।

रेस जित्ने तथा सहभागी महिला धावकलाई उपसभामुख इन्दिरा रानाले कपसहित पुरस्कार तथा मायाकाे चिनाे र प्रमाणपत्र वितरण गरेकी थिइन् ।

पाँचपाेखरी गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारीले ४१ हजार मिटर उचाइमा महिला ट्रेल रेस गरिएकाे पहिलाेपटक भएकाे बताइन् । टुपिडाँडा, नाेर्सयाम हुँदै पाँचपाेखरी गयौं,´ उनले भनिन्,पाँचपाेखरीबाट आज विहान ७ बजे रेस सुरू भयाे, तल झर्यौं । कुदयौं । बाटाे ठिक छ ।´ उनकाअनुसार ट्रेल रेसमा विभिन्न जिल्लाका ५१ जना महिला छन् । जसमा १७ देखि ६० वर्षसम्मका छन् ।

मुख्यत: पाँच पाेखरी चिनाउन याे आयाेजना गरिएकाे हाे,´ उपाध्यक्ष अधिकारीले भनिन्,पहिला पनि तीनपटक म्याराथन गरेका छौं । जसका कारण बाह्य र आन्तरिक पर्यटन बढेका छन् । तर, महिलाहरूकाे रेस पहिलाे हाे । महिलाहरूलाई अगाडि बढाउन, हौसला दिन, महिलाहरू केही गर्न सक्छन् है भनेर उत्प्रेरणा जगाउन गरिएकाे हाे ।´ चुलाेचौकामा सीमित महिलाहरू दौडिनु, रेसमा भाग लिनु समताकाे लागि ठूलाे कुरा भएकाे उनकाे भनाइ थियाे ।

विश्व समावेशी साहसी संस्थाकी अध्यक्ष माया गुरूङले आमाछाेरीदेखि दिदीबहिनीसम्म दौडिएकाे बताइन् । काठमाडौंबाट नजिक रहेकाे पर्यटन क्षेत्रकाे प्रवर्द्धन हाेस्, विकास भनेर गरिएकाे हाे। सिन्धुपाल्चोक चिनाउन, पर्यटन सम्भावना बढाउन यसले मद्दत गर्नेछ,´ उनले भनिन्,जुनसुकै उमेरका महिलाहरू उचाइमा पुग्न सक्छन् भन्ने सन्देश दिएकाे छ । आगामी दिनमा निरन्तरता दिनेछौं ।´ यसले थाम डाँडाहरूकाे धार्मिक पर्यटन प्रवर्द्धन हुने पनि आयाेजककाे विश्वास छ ।

पुरस्कार वितरण समाराेहमा बाेल्दै पाँचपाेखरी गाउँपालिका अध्यक्ष टासी लामाले सन् २०१७ मा गाउँपालिकालाई पर्यटनकाे हब बनाउन म्याराथन प्रारम्भ गरेकाे बताए । आज असाध्यै राम्राे म्याराथन भएकाे छ,´उनले भने,आगामी दिनमा अझै सहयाेग गर्नेछौं ।´

उपसभामुख इन्दिरा रानाले याे म्याराथनले महिला सशक्तीकरण, पर्यटनमा टेवा पुर्याउने बताइन् । समावेशीताकाे हिसाबले पनि याे म्याराथनले उच्च सन्देश दिएकाे उनकाे भनाइ थियाे । `विश्वकै अग्लाे हाइटबाट बहिनीहरूले म्याराथन गर्नु गर्वकाे कुरा हाे । सँगै पर्यटन प्रवर्द्धनका लागि याे महत्त्वपूर्ण छ,´ उनले भनिन् ।

मौलिकता, संस्कृति झल्किनेगरी बाटाे र बस्ती विकास गर्न सुझाव दिँदै रानाले अर्गानिक र मौलिकता नै पर्यटकीय सम्भावना भएकाे बताइन् । पाँचपाेखरीकाे डाँडाहरूमा धान फलेकाे देखेर आफू माेहित भएकाे अनुभूति व्यक्त गर्दै याे ठाउँले प्रशस्त सम्भावना बाेकेकाले इकाे पर्यटनलाई प्रवर्द्धन गर्न अनुराेध गरिन् । सडक स्तराेन्नति निर्माणका लागि आफूले सक्दाे पहल गर्ने उनले प्रतिबद्धता जनाइन् ।



प्रतिक्रिया दिनुहोस्